ललितपुर।  गर्मी बढेसँगै बजारमा चिसो पेय पदार्थको माग बढ्छ, तर पछिल्ला वर्षहरूमा नेपालमा एउटा पुरानो पेय नयाँ पहिचानका साथ फर्किएको छ – ‘मोही’ । कुनै समय गाउँघरका किसानहरुको दैनिक जीवनसँग जोडिएको मोही अहिले स्वास्थ्यप्रेमी, पोषणविद्, चिकित्सक र उद्यमीहरूको रुचिको विषय बनेको छ । मोहीको लोकप्रियता केवल स्वादका कारण बढेको होइन । यसको पछाडि नेपाली समाजको इतिहास, संस्कृति, स्वास्थ्य चेतना र बदलिँदो उपभोक्ताहरु व्यवहार जोडिएको छ । कृत्रिम पेय पदार्थप्रति बढ्दो सावधानी र प्राकृतिक खानाप्रतिको आकर्षणले मोहीलाई नयाँ पुस्तामाझ पनि स्थापित गरिरहेको छ ।

नेपाल डेरी एसोसिएशनका अनुसार देशभरका करिब ५० उद्योगले दैनिक १ लाख लिटर हाराहारीमा मोही उत्पादन तथा बिक्री गरिरहेका छन्, तर मोहीको बढ्दो बजारसँगै गुणस्तरको चुनौती पनि छ । नेपाल डेरी एसोसिएशनका अध्यक्ष प्रल्हाद दाहालले भने,‘मोहीको सबैभन्दा ठुलो शक्ति यसको प्राकृतिकपन हो । कृत्रिम स्वाद वा अत्यधिक चिनी मिसाएर यसको मौलिकता बिगार्नु हुँदैन ।’ दाहाल मोहीको बढ्दो लोकप्रियतालाई उपभोक्ताहरुको स्वास्थ्य सचेतनासँग जोड्छन् । दाहालले भने,‘केही वर्षअघिसम्म मोही गाउँघरमा सीमित थियो । अहिले उपभोक्ताहरु प्राकृतिक र स्वास्थ्यवर्धक पेयतर्फ आकर्षित भइरहेका छन् । त्यसैले मोहीको माग उल्लेख्य रूपमा बढेको छ ।’

यस्तै, स्वास्थ्यका दृष्टिले पनि मोही निकै उपयोगी मानिन्छ । आयुर्वेद चिकित्सक डा. मनोजकुमार चौधारीका अनुसार मोहीमा क्याल्सियम, प्रोटिन, एमिनो एसिड, भिटामिन तथा प्रोबायोटिक तत्व पाइन्छ । ‘मोहीमा रहेका लाभदायक जीवाणुले पाचन प्रणालीलाई सक्रिय राख्न मद्दत गर्छ । यसले आन्द्राको स्वास्थ्य सुधार गर्नुका साथै शरीरलाई आवश्यक पोषण पनि दिन्छ’, चौधारीले भने । डा. चौधरीले दहीबाट मोही बनाउने क्रममा विकसित हुने प्रोबायोटिक जीवाणु नै यसको मुख्य शक्ति भएको बताए । ‘मोहीले पाचन प्रक्रिया चुस्त राख्छ । शरीरमा पानीको कमी हुन दिँदैन र हड्डीको विकासका लागि आवश्यक क्याल्सियम उपलब्ध गराउँछ ।’ दुध पचाउन नसक्ने व्यक्तिहरुका लागि पनि मोही राम्रो विकल्प हुन सक्ने चौधारीले बताए ।

नेपाली संस्कृतिमा दुध, दही र घिउ जस्तै मोहीको पनि विशेष महत्त्व छ । शुभकार्यमा दही खुवाएर बिदाइ गर्ने, पञ्चामृतमा दुध, दही प्रयोग गर्ने र यात्रामा निस्कँदा दही खाने परम्पराले दुग्धजन्य पदार्थलाई केवल खाद्य वस्तु नभई संस्कृतिको हिस्सा बनाएको छ । मोहीको इतिहास कृषि सभ्यतासँग जोडिएको छ । गाई वा भैँसीको दुधबाट दही जमाएर घिउ निकालिसकेपछि बाँकी रहने तरल पदार्थ मोही हो । खेतबारीमा घाममा काम गर्ने किसानहरुका लागि यो तिर्खा मेटाउने मात्र होइन, ऊर्जा र स्फूर्ति दिने पेय पनि थियो ।

आज पनि धेरै ग्रामीण क्षेत्रमा रोपाइँ र खेतको काममा मोही अनिवार्य जस्तै मानिन्छ । मोहीको उपयोग स्वास्थ्यमा मात्र सीमित छैन । घरेलु सौन्दर्य उपचारमा पनि यसको प्रयोग हुँदै आएको छ । दही वा मोहीमा बेसन र बेसार मिसाएर अनुहारमा लगाउने तथा कपालको हेरचाहमा प्रयोग गर्ने परम्परा अझै धेरै घरमा कायम छ । पछिल्लो समय मोहीले व्यावसायिक रूप पनि लिन थालेको छ । दुग्ध विकास संस्थानको लोकप्रिय उत्पादनमा मोही पर्छ ।

विभिन्न डेरी उद्योगले प्याकेटबन्द मोही बजारमा ल्याइरहेका छन् । एक समय किसानहरुको खेतमा श्रमपछि तिर्खा मेटाउने पेयका रूपमा चिनिएको मोही आज आधुनिक स्वास्थ्य जीवनशैलीको प्रतीक बन्दै गएको छ । संस्कृति, विज्ञान, पोषण र व्यवसायलाई एउटै गिलासमा समेट्न सफल मोही वास्तवमै नेपाली जीवनको अमूल्य सम्पत्ति हो । यसको सही प्रवर्धन गर्न सकिए मोही केवल पेय पदार्थ होइन, नेपालको पहिचान बन्न सक्छ ।