ललितपुर। विगत लामो समयदेखि बीउ विजनको क्षेत्रमा काम गर्दै आएको सक्कल एग्रो प्रा.लि. को अत्याधुनिक बीउ बिजन तथा भण्डार गृह संचालनमा आएको छ । कृषि पशुपन्छी, वन तथा वातावरण मन्त्रालय (बागमती प्रदेश) का सचिव सुधिर श्रेष्ठले बीउ भण्डारण तथा प्रशोधन गृहको उद्घाटन गर्दै सक्कल एग्रोले संचालनमा ल्याएको प्रशोधन केन्द्रको आवश्यक सहयोगको लागि सधैं तयार रहेको जानकारी दिए । आयातित हाइब्रिड बीउले रैथाने बीउ प्रतिस्थापन हुँदै गएको परिप्रेक्षमा सक्कल एग्रो कम्पनीले उदाहरणीय काम गरेको श्रेष्ठले जानकारी दिए ।
वि.सं.२०७८ सालमा स्थापना भई बीउ उत्पादन, संरक्षण र किसानहरु समक्ष गुणस्तरीय बीउ बिक्री – वितरण गर्दै आएको कम्पनीको अबको योजना आयातित हाइब्रिड बीउको प्रतिस्थापन गरी रैथाने बीउको प्रर्वद्धनमा रहेको कम्पनीका अध्यक्ष सक्कल थापाले जानकारी दिए ।
बागमती प्रदेश बीउ विज गुणस्तर नियन्त्रण केन्द्र हेटौंडाको २८ लाख ९५ हजार २ सय ६९ र सक्कल एग्रोको ३० लाख ५ हजार २ सय ९१ रुपैंया गरी ५९ लाख ५ सय ५६ रुपैंयामा प्रशोधन गृह संचालनमा आएको हो । प्रशोधन इकाईबाट ५० महिला र ४० पुरुष गरी नव्वे जना लाभान्वीत हुनुका साथै गुणस्तरीय बीउ उत्पादन र विस्तारमा टेवा पुग्ने कम्पनीले अपेक्षा गरेको छ । उक्त कार्यक्रममा प्रदेश बीउ विजन गुणस्तर नियन्त्रण केन्द्र मकवानपुरका प्रमुख राजन ढकाल, ललितपुरको गोदावरी नगरपालिका वडा नं.-१ का वडाध्यक्ष श्रीराज थापा, गोदावरी नगरपालिकाको कृषि शाखा प्रमुख सुवास खनाल, विभिन्न संघ/संस्थाको प्रतिनिधिहरु, कृषकहरुलगायतको उपस्थिति रहेको थियो ।









