ललितपुर। । काठमाडौंको भृकुटीमण्डपमा भोलि देखि आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी सुरु हुँदैछ । तीन दिनसम्म सञ्चालन हुने प्रदर्शनीको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।

आधुनिक कृषि यन्त्र, उपकरण तथा प्रविधिको प्रदर्शनसँगै स्थानीय उत्पादन, रैथाने सीप र परम्परागत प्रविधिको प्रवर्द्धनलाई समेत प्राथमिकता दिइएको प्रदर्शनीमा ५० हजारभन्दा बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ । प्रदर्शनीमा १५० भन्दा बढी प्रदर्शक सहभागी हुनेछन् । प्रदर्शनीमा दुई हजारभन्दा बढी प्रकारका कृषि यन्त्र तथा उपकरण र २०० भन्दा बढी स्टल रहने आयोजकले जनाएको छ ।

नेपाल कृषि मेसिनरी व्यवसायी संघ (नामिया) का अध्यक्ष कृष्ण शर्माले प्रदर्शनीले नेपाली कृषि क्षेत्रमा आधुनिक यन्त्र तथा प्रविधिको प्रयोग विस्तार गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनका अनुसार कृषि क्षेत्रलाई व्यावसायिक, उत्पादनमुखी र प्रतिस्पर्धी बनाउन आवश्यक आधुनिक उपकरण तथा नवीनतम प्रविधिबारे किसान, कृषि उद्यमी र व्यवसायीलाई प्रत्यक्ष जानकारी दिने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको हो ।

प्रदर्शनीमा ट्र्याक्टर, कृषि ड्रोन, रोपाइँ तथा बाली व्यवस्थापनका उपकरण, आधुनिक सिँचाइ प्रणाली, हरितगृह, शीतभण्डारणलगायतका प्रविधि प्रदर्शन गरिनेछ । स्वदेशमै विकास तथा निर्माण गरिएका कृषि उपकरणलाई समेत प्रदर्शनीमा स्थान दिइनेछ । विभिन्न कम्पनी तथा संस्थाले आफ्ना उत्पादन र प्रविधिबारे किसानलाई प्रत्यक्ष जानकारी दिनेछन् ।

आधुनिक कृषि यान्त्रीकरणसँगै स्थानीय उत्पादन र रैथाने सीपको संरक्षणलाई पनि प्रदर्शनीले महत्त्व दिएको छ । यसैक्रममा लोपोन्मुख परम्परागत सीप र उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले राउटे समुदायका उत्पादन प्रदर्शन तथा बिक्रीका लागि दुईवटा स्टल निःशुल्क उपलब्ध गराइने भएको छ। राउटे समुदायको सहभागिताका लागि सोसेक नेपालले समन्वय गर्नेछ । संस्थाको पहलमा समुदायका प्रतिनिधिले परम्परागत सीपबाट तयार गरेका सामग्री प्रदर्शनीमा राख्नेछन् ।

अवलोकनकर्तालाई आकर्षित गर्न आयोजकले लक्की ड्रमार्फत उपहार वितरणको व्यवस्था पनि गरेको छ । प्रदर्शनी अवधिभर प्रत्येक दिन ५० जना अवलोकनकर्ता छनोट गरी कृषि मेसिनरी, मल, स्प्रे, मल्चिङ प्लास्टिक, विद्युतीय मकै छोडाउने मेसिनलगायतका कृषि सामग्री तथा साना औजार प्रदान गरिनेछ । लक्की ड्रका प्रमुख विजेतालाई प्रदर्शनीको अन्तिम दिन मिनी ट्रेलर उपहार दिइने आयोजकले जनाएको छ ।

प्रदर्शनीको मुख्य प्रायोजक एसकेटी नेपाल प्रालि रहेको छ । त्यस्तै, प्लेटिनम प्रायोजकमा जी–सेभेन एग्रिकल्चर प्रालि, नेपाल ट्रेड होस्ट प्रालि र शलोम एग्रिकल्चर प्रालि रहेका छन् । मंसिर ४ देखि ६ गतेसम्म सञ्चालन हुने प्रदर्शनी बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खुला रहनेछ ।