चितवन। दूधको मूल्य प्रतिलिटर ७५ रुपैयाँ कायम गर्न माग गर्दै चितवनका दुग्ध उत्पादक किसानले सरकारलाई सातदिने अल्टिमेटम दिएका छन् ।

दूधको मूल्य तथा किसानका विभिन्न समस्या समाधानका लागि पटक–पटक सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि माग सुनुवाइ नभएपछि चितवनका दुग्ध उत्पादक किसान फेरि आन्दोलनमा उत्रिने तयारीमा जुटेको जिल्ला दुग्ध उत्पादक सहकारी संघ, चितवनका अध्यक्ष किशोर बगालेले बताए ।

दूध उत्पादनमा लाग्ने पशु आहार, दाना, औषधि तथा श्रमको लागत निरन्तर बढिरहेको छ । तर उत्पादनको उचित मूल्य र बजारको सुनिश्चितता नहुँदा दुग्ध व्यवसायमा संलग्न किसान आर्थिक समस्यामा पर्दै गएको उनले बताए ।

चितवनमा हाल दैनिक करिब ३ लाख ५५ हजार लिटर दूध उत्पादन हुँदै आएको छ । यहाँ उत्पादित दूधमध्ये करिब ५५ प्रतिशत काठमाडौं, ललितपुर, भक्तपुर, कास्की र मकवानपुरलगायत जिल्लामा बिक्रीका लागि पठाइन्छ । २०७६ जेठ २९ गते चितवनलाई दुग्धमा आत्मनिर्भर जिल्ला घोषणा गरिएको थियो ।