झापा। काँकडभिट्टा नाकाबाट गत असोज महिनामा ९८ करोड ८८ लाख ८४ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ । मेची भन्सार कार्यालयका सूचना अधिकारी माङ्कल राईका अनुसार सो महिनामा पाँच लाख ४१ हजार ९४० केजी अलैँची भारत निर्यात भएको छ ।

उनका अनुसार ४९ करोड ५४ लाख ५२ हजार रुपैयाँ बराबरको १७ लाख १५ हजार ९३२ केजी चिया, ४४ करोड २३ लाख ४८ हजारको एक लाख १८ हजार ४४४ केजी प्लाइउड र आठ करोड ९५ लाख ५० हजारको १३ लाख १९ हजार १४० केजी अम्रिसो निर्यात भएको छ ।

अलैँची, चिया र प्लाइउड पूर्वी नेपालका झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लामा उत्पादन हुने निर्यातजन्य वस्तु हुन् ।

सोही महिनामा आठ करोड ९५ लाख ३६ हजार मूल्य बराबरको ४६ हजार ७४५ केजी छुर्पी (कुकुर र बिरालोको खाना), २९ करोड ८४ लाख ६७ हजारको २० लाख ८० हजार ७६३ केजी फलामे पाता र चार करोड ८३ लाख १८ हजार बराबरको ४८ हजार ३१८ केजी सुकुटी (सुकाएको मासु) निर्यात भएको भन्सार कार्यालयले जनाएको छ ।