ललितपुर। । नेपाली कफीको उत्पादन, प्रवर्द्धन र विश्व बजारमा विस्तार गर्ने उद्देश्यसहित आज २२औँ राष्ट्रिय कफी दिवस मनाइँदैछ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा ‘उत्पादनमा वृद्धि, गुणस्तरमा सुधार, नेपाली कफीको विश्व बजारमा विस्तार’ भन्ने नाराका साथ दिवस मनाउन लागिएको हो ।
नेपालमा कफी खेतीको सम्भावना र महत्व बढ्दै गए पनि उत्पादन तथा निर्यातलाई थप विस्तार गर्नुपर्ने आवश्यकता रहेको बोर्डले जनाएको छ । नेपालका मध्यपहाडी क्षेत्रमा उपयुक्त हावापानी र भौगोलिक अवस्था रहेकाले कफी खेतीको विस्तारका लागि प्रशस्त सम्भावना रहेको बोर्डको भनाइ छ ।
बोर्डका अनुसार आर्थिक वर्ष २०८२/८३ मा नेपालमा ६ हजार १६६.६ हेक्टर क्षेत्रफलमा कफी खेती गरिएको छ । उक्त वर्ष ७९० मेट्रिक टन ग्रिन बिन कफी उत्पादन भएको तथ्यांक छ । पछिल्ला वर्षमा कफी खेतीको क्षेत्रफल र उत्पादन दुवै बढ्दै गएको देखिन्छ । तर, स्वदेशी उत्पादनले आन्तरिक बजारको माग पूरा गर्न नसक्दा कफी आयातसमेत बढिरहेको छ । आर्थिक वर्ष २०८२/८३ मा नेपालले २ लाख ५९ हजार ४७५ केजी कफी आयात गरेको छ । उक्त कफी आयातमा १९ करोड ४७ लाख १७ हजार रुपैयाँ खर्च भएको बोर्डको तथ्यांक छ ।
सोही अवधिमा नेपालबाट ७० हजार ९८९ केजी कफी निर्यात भएको छ । निर्यातबाट १४ करोड ४९ लाख ५७ हजार रुपैयाँ आम्दानी भएको तथ्यांकमा उल्लेख छ ।
नेपाली कफीको आन्तरिक तथा अन्तर्राष्ट्रिय बजारमा माग बढ्दै गएको अवस्थामा उत्पादन वृद्धि, गुणस्तर सुधार र बजारीकरणमा विशेष ध्यान दिनुपर्ने बोर्डले जनाएको छ ।
कफी किसानलाई संरक्षण तथा प्रोत्साहन गर्दै युवा पुस्तालाई स्वदेशमै रोजगारी र उद्यमशीलताको अवसर सिर्जना गर्ने, सीमित क्षेत्रको कफी खेतीलाई विस्तार गर्ने तथा व्यावसायिक उत्पादनतर्फ आकर्षित गर्ने उद्देश्यले विभिन्न कार्यक्रम अघि बढाइएको बोर्डले जनाएको छ ।
त्यसैगरी कफीको व्यावसायिक उत्पादन बढाउन प्रदेशहरूमा सम्भाव्यता अध्ययन, कफी डेमोन्स्ट्रेसन प्लट स्थापना, नर्सरी विकास, प्राविधिक सहयोग, प्रशोधन उद्योग स्थापना तथा गुणस्तर व्यवस्थापनका कार्यक्रम सञ्चालन भइरहेका छन् ।








