कृषि रूपान्तरणको आवश्यकता र यान्त्रीकरणको महत्त्व :
नेपालको कृषि क्षेत्र खाद्य तथा पोषण सुरक्षा, रोजगारी सिर्जना र ग्रामीण अर्थतन्त्रको प्रमुख आधार हो। तथापि, पछिल्लो समय कृषि क्षेत्रमा श्रमिक अभाव, युवा जनशक्तिको वैदेशिक पलायन, खेतीयोग्य जमिनको खण्डीकरण, उत्पादन लागतमा वृद्धि तथा जलवायु परिवर्तनका चुनौती बढ्दै गएका छन्। परम्परागत कृषि प्रणालीमा निर्भर रहेर यी चुनौतीको प्रभावकारी सामना गर्न कठिन हुँदै गएको छ। अर्कोतर्फ, कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्दै कृषिलाई व्यावसायिक, प्रतिस्पर्धी र दिगो बनाउनुपर्ने आवश्यकता पनि उत्तिकै छ। यस्तो अवस्थामा कृषि यान्त्रीकरण नेपालको कृषि रूपान्तरणको महत्त्वपूर्ण आधार बन्न सक्छ।

कृषि यान्त्रीकरण भन्नाले कृषि उत्पादनदेखि उत्पादनपछिका कार्यसम्म मानव श्रम, पशुशक्ति, यान्त्रिक शक्ति तथा आधुनिक प्रविधिको उपयुक्त प्रयोग गरी कृषि कार्यलाई सहज, छिटो, प्रभावकारी र आर्थिक रूपमा लाभदायक बनाउने प्रक्रिया हो। यसअन्तर्गत जमिन तयारी, बीउ रोपण, रोपाइँ, गोडमेल, सिँचाइ, बाली कटानी, दाइँ, ढुवानी, सुकाउने, प्रशोधन तथा भण्डारणलगायतका कार्य पर्दछन्। यसको उद्देश्य कृषि कार्यमा मेसिनको प्रयोग बढाउनु मात्र नभई श्रम तथा समय बचत गर्नु, उत्पादन लागत घटाउनु, कार्यक्षमता अभिवृद्धि गर्नु र किसानको आम्दानीमा सुधार ल्याउनु हो।

कृषि गणनाले देखाएको नेपालको कृषि यान्त्रीकरणको अवस्था :
नेपालमा कृषि यान्त्रीकरणको प्रयोग पछिल्लो समयमा विस्तार हुँदै गएको छ। कृषि श्रमिकको उपलब्धतामा कमी, श्रम लागतमा वृद्धि, युवा जनशक्तिको वैदेशिक पलायन तथा कृषि कार्य समयमै सम्पन्न गर्नुपर्ने आवश्यकताले कृषि यन्त्र तथा उपकरणको माग बढाएको छ। यद्यपि, कृषि यान्त्रीकरणको वास्तविक अवस्था मूल्याङ्कन गर्दा यन्त्रको उपलब्धता वा आयातको सङ्ख्या मात्र पर्याप्त हुँदैन। कति कृषिचलनले कुन प्रकारका यन्त्र प्रयोग गरिरहेका छन्, ती यन्त्रको स्वामित्व कससँग छ र किसानले आवश्यक समयमा यान्त्रिक सेवा प्राप्त गर्न सकेका छन् कि छैनन् भन्ने पक्ष पनि उत्तिकै महत्त्वपूर्ण हुन्छन्।

राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा प्रकाशित राष्ट्रिय कृषि गणना २०७८/७९ ले नेपालको कृषि यान्त्रीकरणको अवस्था विश्लेषण गर्न महत्त्वपूर्ण आधार प्रदान गरेको छ। यस गणनाले जमिन तयारी, सिँचाइ, बाली संरक्षण, बाली कटानी, पशुपालन तथा कृषि उत्पादनका अन्य कार्यमा प्रयोग हुने विभिन्न कृषि यन्त्र तथा उपकरणको प्रयोग र स्वामित्वसम्बन्धी तथ्याङ्क समेटेको छ। यसबाट नेपाली कृषिमा परम्परागत औजारदेखि आधुनिक शक्तिचालित उपकरणसम्मको प्रयोग भइरहेको देखिन्छ। कृषि यन्त्र तथा उपकरणको प्रयोग र स्वामित्वसम्बन्धी विवरण तालिका १ मा प्रस्तुत गरिएको छ।

तालिका १ मा प्रस्तुत तथ्याङ्कले नेपालको कृषि यान्त्रीकरणको विस्तारसँगै यसको प्रयोगको स्वरूप पनि उजागर गरेको छ। प्रस्तुत उपकरणमध्ये ट्र्याक्टर प्रयोग गर्ने कृषिचलनको हिस्सा सबैभन्दा बढी ३९.७ प्रतिशत रहेको छ। त्यसैगरी थ्रेसर र स्प्रेयर प्रयोग गर्ने कृषिचलनको हिस्सा क्रमशः २८.४ र २७.९ प्रतिशत रहेको छ। यसले जमिन तयारी, बाली कटानी तथा दाइँ र बाली संरक्षणका कार्यमा कृषि यन्त्रको प्रयोग उल्लेखनीय रूपमा विस्तार भएको देखाउँछ। पावर टिलर प्रयोग गर्ने कृषिचलनको हिस्सा ११.४ प्रतिशत रहेको छ, जसले साना तथा मध्यम आकारका खेतमा समेत शक्ति चालित उपकरणको प्रयोग भइरहेको सङ्केत गर्छ।

सिँचाइसम्बन्धी उपकरणको प्रयोगले पनि नेपालको कृषि यान्त्रीकरणको महत्त्वपूर्ण पक्ष देखाउँछ। स्यालो ट्युबवेल, डिप ट्युबवेल तथा पम्पसेटको प्रयोगले भूमिगत जलस्रोतमा आधारित सिँचाइ प्रणालीको महत्त्व उजागर गर्छ। यसले कृषि उत्पादनमा सिँचाइ प्रविधिको भूमिका स्पष्ट पार्नुका साथै ऊर्जा दक्षता, पानीको उपलब्धता र जलस्रोतको दिगो व्यवस्थापनलाई पनि यान्त्रीकरणको अभिन्न पक्षका रूपमा लिनुपर्ने आवश्यकता देखाउँछ।

अर्कोतर्फ, दूध दुहुने मेसिन प्रयोग गर्ने कृषिचलनको हिस्सा ०.७ प्रतिशत मात्र रहेको तथ्याङ्कले पशुपालन क्षेत्रमा यान्त्रीकरणको विस्तार तुलनात्मक रूपमा सीमित रहेको देखाउँछ। यसैगरी कृषि उपजको सफाइ, वर्गीकरण, प्रशोधन तथा भण्डारणमा प्रयोग हुने उपकरणको पहुँच र प्रयोग विस्तार गर्नुपर्ने आवश्यकता देखिन्छ। यसबाट नेपालको कृषि यान्त्रीकरण अझै पनि मुख्यतः प्राथमिक कृषि उत्पादनका केही कार्यमा केन्द्रित रहेको र पशुपालन तथा उत्पादनपछिका कार्यमा थप अनुसन्धान र प्रविधि विस्तार आवश्यक रहेको स्पष्ट हुन्छ।

कृषि यन्त्रको प्रयोग र स्वामित्वबीचको अन्तर :
राष्ट्रिय कृषि गणनाको अर्को महत्त्वपूर्ण पक्ष कृषि यन्त्र प्रयोग गर्ने कृषिचलन र स्वामित्वमा रहेका यन्त्रको सङ्ख्याबीच देखिएको अन्तर हो। उदाहरणका लागि, ट्र्याक्टर प्रयोग गर्ने कृषिचलनको सङ्ख्या करिब १६ लाख ३९ हजार हुँदा स्वामित्वमा रहेका ट्र्याक्टरको सङ्ख्या करिब ५८ हजार ५०० मात्र रहेको छ। त्यसैगरी थ्रेसर प्रयोग गर्ने कृषिचलनको सङ्ख्या करिब ११ लाख ५५ हजार हुँदा स्वामित्वमा रहेका थ्रेसरको सङ्ख्या करिब १ लाख १६ हजार रहेको छ।

यी तथ्याङ्कले कृषि यन्त्रको प्रयोग व्यक्तिगत स्वामित्वमा मात्र निर्भर नभई भाडा, साझा प्रयोग तथा सेवा प्रदायकमार्फत समेत भइरहेको हुन सक्ने देखाउँछन्। विशेषगरी ठूलो लगानी आवश्यक पर्ने ट्र्याक्टर, थ्रेसर तथा अन्य शक्ति चालित उपकरणका लागि कृषि यन्त्र सेवा प्रणालीको महत्त्व स्पष्ट हुन्छ। यसले साना किसानका लागि यन्त्रको व्यक्तिगत खरिदभन्दा आवश्यकताअनुसार यान्त्रिक सेवा प्राप्त गर्न सक्ने व्यवस्था बढी व्यावहारिक हुन सक्ने देखाउँछ।

त्यसैले नेपालको कृषि यान्त्रीकरणसम्बन्धी नीति तथा कार्यक्रमले यन्त्र वितरण वा व्यक्तिगत स्वामित्व विस्तारमा मात्र जोड दिनु हुँदैन। कृषि यन्त्र भाडा सेवा, सामूहिक स्वामित्व, सहकारीमा आधारित प्रयोग तथा व्यावसायिक सेवा केन्द्रको विकासलाई समेत प्राथमिकता दिनुपर्छ। यसबाट सीमित आर्थिक क्षमता भएका साना किसानले पनि आधुनिक कृषि प्रविधिको लाभ लिन सक्नेछन्।

कृषि यान्त्रीकरणको प्रवृत्ति र देखिएका चुनौती :
उपलब्ध तथ्याङ्कको विश्लेषण गर्दा नेपालको कृषि यान्त्रीकरणमा केही स्पष्ट प्रवृत्ति देखिन्छन्। पहिलो, जमिन तयारी, बाली संरक्षण तथा बाली कटानी र दाइँजस्ता श्रमप्रधान कार्यमा कृषि यन्त्रको प्रयोग उल्लेखनीय रूपमा विस्तार भएको छ। दोस्रो, सिँचाइसम्बन्धी उपकरणको प्रयोगले कृषि उत्पादनमा यान्त्रिक प्रविधिको महत्त्व बढाएको छ। तेस्रो, पशुपालन तथा कृषि उपजको उत्पादनपछिका कार्यमा आधुनिक उपकरणको प्रयोग अझै विस्तार गर्नुपर्ने देखिन्छ।

यद्यपि, यन्त्रको प्रयोग बढ्दै जानु मात्रले कृषि यान्त्रीकरणको प्रभावकारिता सुनिश्चित गर्दैन। साना तथा खण्डीकृत खेत, भौगोलिक कठिनाइ, यन्त्र खरिदका लागि आवश्यक पुँजी, इन्धन तथा सञ्चालन खर्च, दक्ष जनशक्तिको अभाव, पार्टपुर्जाको उपलब्धता र मर्मतसम्भार सेवाको सीमितताले यान्त्रीकरणको विस्तारमा चुनौती सिर्जना गरेका छन्। कतिपय अवस्थामा आयातित कृषि यन्त्र स्थानीय बाली प्रणाली, खेतको आकार र भौगोलिक अवस्थासँग पूर्ण रूपमा मेल नखाने समस्या पनि देखिन्छ।

यसका साथै कृषि यन्त्रको प्रयोग र प्रभावकारिताबीचको सम्बन्धलाई पनि ध्यान दिन आवश्यक छ। यन्त्र उपलब्ध भए पनि समयमा सेवा नपाउनु, दक्ष चालकको अभाव हुनु, सञ्चालन तथा मर्मत खर्च बढी हुनु र आवश्यक प्रविधिको जानकारी नहुनुले यसको प्रभावकारी उपयोगमा बाधा पुर्‍याउन सक्छ। त्यसैले यान्त्रीकरणको विस्तारसँगै उपयुक्त प्रविधिको छनोट, वैज्ञानिक परीक्षण, प्राविधिक तालिम र मर्मतसम्भार सेवाको विकास आवश्यक छ।

भौगोलिक विविधता र उपयुक्त प्रविधिको आवश्यकता :
नेपालको भौगोलिक विविधताका कारण कृषि यान्त्रीकरणको आवश्यकता र प्रविधिको उपयुक्तता क्षेत्रअनुसार फरक हुन्छ। तराईमा समथर जमिन र तुलनात्मक रूपमा ठूला खेत भएकाले ट्र्याक्टर, पावर टिलर, धान रोप्ने यन्त्र, थ्रेसर तथा संयुक्त कटानी यन्त्र उपयोगी हुन्छन्। पहाडी क्षेत्रमा साना तथा खण्डीकृत खेत, भिरालो जमिन र साँघुरा कृषि बाटाका कारण साना शक्ति चालित टिलर, मकै छोडाउने यन्त्र, साना थ्रेसर तथा हलुका कृषि उपकरण बढी उपयुक्त हुन सक्छन्। हिमाली क्षेत्रमा हलुका, सजिलै सार्न सकिने तथा बहुउपयोगी उपकरण, सौर्य ऊर्जामा आधारित सिँचाइ प्रणाली र साना प्रशोधन प्रविधिको आवश्यकता बढी हुन्छ।

एउटै भौगोलिक क्षेत्रभित्र पनि बाली प्रणाली, खेतीको आकार, माटोको अवस्था, ऊर्जा उपलब्धता र किसानको आर्थिक क्षमताअनुसार प्रविधिको उपयुक्तता फरक हुन सक्छ। त्यसैले कृषि यान्त्रीकरणको रणनीति भूगोल र स्थानीय उत्पादन प्रणालीमा आधारित हुनुपर्छ। एउटै प्रकारको मेसिन सबै क्षेत्रमा प्रभावकारी हुन्छ भन्ने सोचबाट बाहिर निस्केर स्थानीय आवश्यकता र अवस्थाअनुसार प्रविधिको छनोट, परीक्षण, अनुकूलन तथा विस्तार गर्नु आवश्यक छ।

कृषि यान्त्रीकरणको आर्थिक तथा सामाजिक महत्त्व :
कृषि कार्य समयमै सम्पन्न हुनु उत्पादन र उत्पादकत्वका लागि महत्त्वपूर्ण हुन्छ। धान रोपाइँ, गहुँ तथा मकैको कटानी र अन्य कृषि कार्यमा श्रमिक अभाव हुँदा किसानले समयमा काम गर्न नसक्ने अवस्था आउन सक्छ। उपयुक्त कृषि यन्त्रको प्रयोगले कम समयमा बढी क्षेत्रफलमा काम गर्न सम्भव बनाउँछ। यसले श्रम आवश्यकता घटाउनुका साथै कृषि कार्यको दक्षता बढाउन सहयोग पुर्‍याउँछ।

नेपाली कृषिमा महिलाको श्रम योगदान उल्लेखनीय छ। रोपाइँ, गोडमेल, कटानी, दाइँ तथा कृषि उपज प्रशोधनमा महिलाले ठूलो शारीरिक श्रम खर्च गरिरहेका छन्। महिला किसानको आवश्यकता, शारीरिक क्षमता र सञ्चालन सहजतालाई ध्यानमा राखेर कृषि उपकरण विकास तथा विस्तार गर्न सके उनीहरूको श्रमभार घटाउन सकिन्छ। यसले कृषि कार्यमा महिलाको सहभागिता, कार्यक्षमता र आर्थिक सशक्तीकरणमा समेत योगदान पुर्‍याउन सक्छ।

त्यसैगरी कृषि यान्त्रीकरणले यन्त्र सञ्चालन, मर्मतसम्भार, भाडा सेवा, पार्टपुर्जा निर्माण तथा कृषि उपज प्रशोधनमा रोजगारी र उद्यमशीलताका अवसर सिर्जना गर्न सक्छ। यसले युवालाई कृषि क्षेत्रमा प्राविधिक तथा व्यावसायिक भूमिकामा आकर्षित गर्न पनि सहयोग पुर्‍याउँछ।

कृषि यान्त्रीकरण विकासमा अनुसन्धानको भूमिका :
नेपालमा कृषि यान्त्रीकरणको दिगो विकासका लागि अनुसन्धान, प्रविधि विकास र वैज्ञानिक परीक्षण अपरिहार्य छन्। यस सन्दर्भमा नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क० अन्तर्गतको राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रले महत्त्वपूर्ण संस्थागत भूमिका निर्वाह गर्दै आएको छ। यस क्षेत्रको संस्थागत अनुसन्धान यात्रा कृषि इन्जिनियरिङ महाशाखाबाट सुरु भएको हो, जसलाई सन् २०२० मा राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रका रूपमा पुनःनामकरण गरिएको हो।

केन्द्रले नेपालको कृषि प्रणाली र किसानको आवश्यकताअनुसार कृषि औजार तथा उपकरणको विकास, आयातित प्रविधिको परीक्षण तथा स्थानीयकरण, कृषि यन्त्रको कार्यक्षमता मूल्याङ्कन र उत्पादनपछिका प्रविधिको अनुसन्धान गर्दै आएको छ। नेपाली किसानको आवश्यकता, खेतीको आकार, बाली प्रणाली र भौगोलिक अवस्थाअनुसार उपयुक्त प्रविधिको पहिचान तथा विकास यसको अनुसन्धानको महत्त्वपूर्ण पक्ष हो।

नार्कको कृषि इन्जिनियरिङ अनुसन्धानबाट मकै छोडाउने यन्त्र, बीउ तथा मल एकैपटक राख्ने ज्याब सिडर, कफी प्रशोधन मेसिन, कोदो चुट्ने मेसिन, खन्ने औजार, बीउ सफा गर्ने मेसिन, बाँदर धपाउने यन्त्र, ग्रेडर, बायोचार बनाउने ड्रम तथा अदुवा धुने यन्त्र आदि जस्ता प्रविधिको विकास तथा सुधारका प्रयास भएका छन्। यस्ता प्रविधिको स्थानीय कार्यशालासँगको सहकार्यमा निर्माण तथा व्यावसायीकरण गर्ने प्रयासले स्वदेशी कृषि औजार उत्पादन र मर्मतसम्भारको सम्भावना विस्तार गर्न सहयोग पुर्‍याएको छ।यस्तै विदेशबाट आयातित विभिन्न प्रविधिको पहिचान तथा नेपाली भूगोलमा परिक्षण र सिफारिस जस्ता कार्य पनि गर्दै आएको छ।

कृषि यन्त्रको परीक्षण तथा प्राविधिक मूल्याङ्कन पनि अनुसन्धानको महत्त्वपूर्ण क्षेत्र हो। आयातित कृषि यन्त्र सबै प्रकारका नेपाली खेतबारी र बाली प्रणालीका लागि उपयुक्त नहुन सक्छन्। त्यसैले यन्त्रको कार्यक्षमता, इन्धन खपत, श्रम बचत, कामको गुणस्तर, सञ्चालन लागत र मर्मतसम्भारको सहजताका आधारमा वैज्ञानिक मूल्याङ्कन आवश्यक हुन्छ। यसले किसानलाई उपयुक्त यन्त्र छनोट गर्न र नीति निर्मातालाई प्रमाणमा आधारित निर्णय लिन सहयोग पुर्‍याउँछ।

बालीविशेष यान्त्रीकरणमा पनि अनुसन्धानको आवश्यकता उत्तिकै छ। धान तथा गहुँ खेतीमा जमिन तयारी, बीउ रोपण, रोपाइँ, कटानी र दाइँका कार्यलाई यान्त्रिक बनाउन उपयुक्त प्रविधिको परीक्षण तथा प्रवर्द्धन आवश्यक छ। त्यसैगरी मकै खेतीमा बीउ रोपणदेखि गोडमेल, घोगा छुट्याउने, दाना निकाल्ने र सुकाउनेसम्मका कार्यलाई समेट्ने समग्र यान्त्रीकरण प्रणाली विकास गर्नुपर्छ। आलु, उखु, फलफूल तथा तरकारी खेतीका लागि पनि बालीअनुकूल साना तथा मध्यम आकारका उपकरणको विकास र अनुकूलनलाई प्राथमिकता दिनुपर्छ।
उत्पादनपछिको प्रविधि विकास पनि कृषि इन्जिनियरिङ अनुसन्धानको महत्त्वपूर्ण क्षेत्र हो। कृषि उपज सुकाउने, सफा गर्ने, वर्गीकरण, प्रशोधन तथा भण्डारणका लागि उपयुक्त उपकरण र प्रविधिको विकासले कटानीपछिको क्षति घटाउन, गुणस्तर कायम राख्न र कृषि उपजको मूल्य अभिवृद्धि गर्न सहयोग पुर्‍याउँछ।

अनुसन्धानबाट विकसित प्रविधि किसानसम्म नपुगेसम्म त्यसको वास्तविक उपयोगिता स्थापित हुन सक्दैन। त्यसैले केन्द्रले कृषि यन्त्र सञ्चालन तथा मर्मतसम्भारसम्बन्धी तालिम, खेतस्तरीय प्रदर्शन, प्राविधिक परामर्श र कृषि यन्त्र सेवा प्रदायकको क्षमता विकासमा समेत जोड दिँदै आएको छ। कृषि यन्त्रको उचित प्रयोग, नियमित मर्मतसम्भार र दक्ष जनशक्तिको उपलब्धताले प्रविधिको प्रभावकारिता र दिगोपना बढाउन सहयोग पुर्‍याउँछ।

स्वदेशी कृषि यन्त्र निर्माण र प्रविधि हस्तान्तरण :
नेपालमा कृषि यन्त्रको बढ्दो मागसँगै आयातित उपकरणमाथिको निर्भरता घटाउँदै स्वदेशी कृषि औजार तथा उपकरण निर्माणको सम्भावना विस्तार गर्न आवश्यक छ। विशेषगरी स्थानीय आवश्यकता र भूगोलअनुकूल साना तथा मध्यम आकारका कृषि यन्त्रको विकास, निर्माण र सुधारमा अनुसन्धान संस्था तथा निजी क्षेत्रबीच सहकार्य हुनुपर्छ।
स्थानीय कृषि औजार निर्माण गर्ने उद्योग, कार्यशाला तथा प्राविधिक उद्यमीको क्षमता विकास, आवश्यक प्रविधि हस्तान्तरण र गुणस्तर सुधारमा जोड दिनुपर्छ। अनुसन्धान संस्थाले विकास गरेका प्रविधिको डिजाइन, प्राविधिक मापदण्ड र निर्माण प्रक्रियालाई स्थानीय उद्योगसँग जोड्न सके व्यावसायिक उत्पादनको सम्भावना बढाउन सकिन्छ। यसले कृषि यन्त्रको उपलब्धता र मर्मतसम्भार सहज बनाउनुका साथै स्थानीय रोजगारी, उद्यमशीलता र प्राविधिक आत्मनिर्भरतामा योगदान पुर्‍याउन सक्छ।

यसका लागि अनुसन्धान संस्था, कृषि यन्त्र उत्पादक, प्राविधिक शिक्षालय, विश्वविद्यालय तथा निजी क्षेत्रबीच प्रविधि विकासदेखि व्यावसायीकरणसम्मको सहकार्य आवश्यक छ। अनुसन्धानबाट विकसित प्रविधि प्रयोगशालामा मात्र सीमित नराखी किसानको खेतसम्म पुर्‍याउने र व्यावसायिक उत्पादनका लागि स्थानीय उद्योगलाई सक्षम बनाउने व्यवस्था गर्नुपर्छ। यस प्रक्रियामा प्रविधिको बौद्धिक सम्पत्ति, गुणस्तर नियन्त्रण, उत्पादन लागत र बजारको मागलाई समेत ध्यान दिन आवश्यक हुन्छ।

साना किसानका लागि कृषि यन्त्र सेवा प्रणाली :
नेपालका अधिकांश साना किसानका लागि आधुनिक कृषि यन्त्र व्यक्तिगत रूपमा खरिद गर्नु आर्थिक दृष्टिले सहज छैन। वर्षमा सीमित समय मात्र प्रयोग हुने यन्त्रमा ठूलो लगानी गर्दा किसानलाई आर्थिक भार पर्न सक्छ। यस्तो अवस्थामा कृषि यन्त्र भाडा तथा सेवा केन्द्र प्रभावकारी विकल्प हुन सक्छन्।

किसानले आवश्यकताअनुसार यन्त्र भाडामा लिन वा यन्त्रसहितको सेवा प्राप्त गर्न सक्ने व्यवस्था विकास गर्नुपर्छ। सहकारी, किसान समूह, स्थानीय तह तथा निजी उद्यमीको सहभागितामा यस्ता केन्द्र सञ्चालन गर्न सकिन्छ। विशेषगरी कस्टम हायरिङ सेन्टर अर्थात् कृषि यन्त्र सेवा केन्द्रमार्फत ट्र्याक्टर, पावर टिलर, रोपाइँ यन्त्र, थ्रेसर, मकै छोडाउने यन्त्र तथा अन्य कृषि उपकरणको सेवा उपलब्ध गराउन सकिन्छ। तर, यस्ता सेवा केन्द्रलाई दिगो बनाउन किसानको मागअनुसार यन्त्र छनोट, दक्ष चालक, नियमित मर्मतसम्भार, पार्टपुर्जाको उपलब्धता, सेवा शुल्क निर्धारण र व्यावसायिक व्यवस्थापन आवश्यक हुन्छ। यसले साना किसानको यान्त्रीकरणमा पहुँच बढाउनुका साथै ग्रामीण क्षेत्रमा प्राविधिक रोजगारी र सेवा व्यवसायको सम्भावना विस्तार गर्न सक्छ।

आधुनिक तथा वातावरणमैत्री कृषि यान्त्रीकरण :
विश्वभर कृषि क्षेत्रमा डिजिटल प्रविधि, कृत्रिम बौद्धिकता, स्वचालित सिँचाइ, रोबोटिक्स तथा प्रिसिजन एग्रिकल्चर प्रविधि आदिको प्रयोग विस्तार हुँदै गएको छ। नेपालले पनि आफ्नो भौगोलिक तथा आर्थिक अवस्थाअनुसार यस्ता प्रविधिको अनुसन्धान र प्रयोगलाई अगाडि बढाउनुपर्छ।

सौर्य ऊर्जामा आधारित सिँचाइ पम्प, विद्युतीय कृषि उपकरण, ऊर्जा दक्ष प्रशोधन प्रविधि, न्यूनतम खनजोत तथा बाली अवशेष व्यवस्थापनका उपकरण नेपाली कृषि प्रणालीका लागि उपयोगी हुन सक्छन्। यस्ता प्रविधिले उत्पादन लागत व्यवस्थापन, स्रोतको दक्ष उपयोग र वातावरणीय दिगोपनमा योगदान पुर्‍याउन सक्छन्। जलवायु परिवर्तनका कारण अनियमित वर्षा, खडेरी तथा तापक्रममा हुने परिवर्तनले कृषि उत्पादनमा चुनौती थपिरहेका छन्। यस्तो अवस्थामा पानीको दक्ष उपयोग गर्ने सिँचाइ प्रविधि, माटोको चिस्यान व्यवस्थापन गर्ने उपकरण, बाली अवशेष व्यवस्थापन तथा मौसमअनुकूल कृषि कार्यमा सहयोग गर्ने प्रविधिको विकास आवश्यक छ।

नेपालका लागि महँगा तथा जटिल प्रविधि भित्र्याउनु मात्र प्राथमिकता हुनु हुँदैन। किसानले किन्न सक्ने, सञ्चालन गर्न सहज हुने, स्थानीय स्तरमै मर्मत गर्न सकिने र वास्तविक कृषि समस्या समाधान गर्ने प्रविधिको विकास बढी आवश्यक छ।
दिगो कृषि यान्त्रीकरणका लागि आगामी प्राथमिकता

नेपालमा दिगो कृषि यान्त्रीकरण विकास गर्न अनुसन्धान, नीति, प्रविधि हस्तान्तरण र व्यावसायिक सेवाबीच प्रभावकारी समन्वय आवश्यक छ। यसका लागि निम्न विषयलाई प्राथमिकता दिनुपर्छ।
भूगोलअनुकूल प्रविधि विकासस् तराई, पहाड र हिमाली क्षेत्रको भौगोलिक अवस्था, खेतीको आकार र बाली प्रणालीअनुसार कृषि यन्त्रको विकास तथा अनुकूलन गर्ने।
वैज्ञानिक परीक्षण र गुणस्तर मूल्याङ्कनस् कृषि यन्त्रको कार्यक्षमता, ऊर्जा खपत, सुरक्षा, टिकाउपन र आर्थिक सम्भाव्यताको परीक्षण गर्ने।
स्वदेशी निर्माण क्षमता विकासस् स्थानीय उद्योग, कार्यशाला र प्राविधिक उद्यमीलाई अनुसन्धान तथा प्रविधि हस्तान्तरणमार्फत जोड्ने।
महिलामैत्री तथा युवामैत्री उपकरणस् महिला किसानको श्रमभार घटाउने र युवालाई कृषि क्षेत्रमा प्राविधिक उद्यमीका रूपमा आकर्षित गर्ने उपकरण विकास गर्ने।
कृषि यन्त्र सेवा केन्द्र विस्तारस् साना किसानको पहुँच बढाउन सहकारी, किसान समूह र निजी क्षेत्रमार्फत यन्त्र भाडा तथा सेवा प्रणालीलाई सुदृढ बनाउने।
उत्पादनपछिको यान्त्रीकरणस् सुकाउने, सफा गर्ने, ग्रेडिङ, प्रशोधन र भण्डारणसम्बन्धी प्रविधिको विकास तथा विस्तार गर्ने।
जलवायु अनुकूल तथा ऊर्जा दक्ष प्रविधिस् सौर्य ऊर्जा, विद्युतीय उपकरण, पानीको दक्ष उपयोग र वातावरणमैत्री कृषि प्रविधिको अनुसन्धानलाई प्राथमिकता दिने।
नीतिगत समन्वय र प्रभाव मूल्याङ्कनस् अनुदान तथा सहयोग कार्यक्रमलाई यन्त्र वितरणमा मात्र सीमित नराखी वास्तविक उपयोग, मर्मतसम्भार, उत्पादकत्व र किसानको आर्थिक लाभसँग जोड्ने।आवश्यक समय सापेक्ष यान्त्रीकरण नीति सुधार गर्ने ।

कृषि अनुसन्धान संस्था, विश्वविद्यालय, सरकारी निकाय, स्थानीय तह, निजी क्षेत्र, सहकारी तथा किसानबीचको सहकार्य सुदृढ गर्न आवश्यक छ। अनुसन्धानबाट विकसित प्रविधिको परीक्षण, उत्पादन, व्यावसायीकरण र किसानसम्म विस्तार गर्ने प्रक्रियामा यी निकायको भूमिका स्पष्ट हुनुपर्छ।

त्यसैगरी कृषि यान्त्रीकरणसम्बन्धी कार्यक्रमको मूल्याङ्कन यन्त्र वितरणको सङ्ख्याका आधारमा मात्र नगरी त्यसको वास्तविक उपयोग, सञ्चालन दक्षता, श्रम तथा समय बचत, उत्पादन लागतमा आएको परिवर्तन, उत्पादकत्व वृद्धि र किसानको आम्दानीमा परेको प्रभावका आधारमा गर्नुपर्छ।

निष्कर्ष :
कृषि यान्त्रीकरण नेपालको कृषि रूपान्तरण, उत्पादन लागत न्यूनीकरण, श्रम दक्षता अभिवृद्धि र कृषि व्यवसायीकरणका लागि महत्त्वपूर्ण माध्यम हो। कृषि श्रमिकको अभाव, बढ्दो उत्पादन लागत, खेतीयोग्य जमिनको खण्डीकरण र जलवायु परिवर्तनबाट सिर्जित चुनौतीको सामना गर्न भूगोल तथा कृषि प्रणालीअनुकूल यान्त्रीकरणको विकास र विस्तार आवश्यक छ। तथापि, यसको सफलता खेतमा मेसिनको सङ्ख्या बढाउनमा मात्र सीमित हुनु हुँदैन। किसानको आवश्यकता, भौगोलिक अवस्था, आर्थिक क्षमता र स्थानीय कृषि प्रणालीअनुसार उपयुक्त प्रविधिको विकास तथा प्रभावकारी उपयोग सुनिश्चित गर्नु आवश्यक छ।

यसका लागि अनुसन्धानमा आधारित स्वदेशी प्रविधि विकास, आयातित यन्त्रको वैज्ञानिक परीक्षण, स्थानीय उद्योगसँग प्रविधि हस्तान्तरण, कृषि यन्त्र सेवा केन्द्रको विस्तार तथा उत्पादनपछिका प्रविधिको प्रवर्द्धनलाई प्राथमिकता दिनुपर्छ। राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्रलगायतका अनुसन्धान संस्थाले किसानका वास्तविक समस्या पहिचान गरी उपयुक्त, किफायती र दिगो प्रविधि विकास तथा विस्तारमा अझ प्रभावकारी भूमिका निर्वाह गर्न आवश्यक छ। साथै अनुसन्धानबाट विकसित प्रविधिलाई व्यावसायिक उत्पादन र किसानको प्रयोगसम्म पुर्‍याउन सरकारी तथा निजी क्षेत्रबीचको सहकार्य सुदृढ बनाउनुपर्छ।

त्यसैगरी कृषि यान्त्रीकरणलाई साना किसानको आर्थिक पहुँचसँग जोड्दै भाडा तथा सेवा केन्द्रको विस्तार, महिलामैत्री उपकरणको विकास, उत्पादनपछिका प्रविधिको प्रवर्द्धन र जलवायु अनुकूल तथा ऊर्जा दक्ष प्रविधिको प्रयोगलाई प्राथमिकता दिनुपर्छ। कृषि यान्त्रीकरणसम्बन्धी कार्यक्रमको प्रभावकारिता यन्त्र वितरणको सङ्ख्याबाट मात्र नभई श्रम तथा समय बचत, उत्पादन लागतमा कमी, उत्पादकत्व वृद्धि, किसानको आम्दानी र कृषि उपजको गुणस्तरमा आएको सुधारका आधारमा मूल्याङ्कन गरिनुपर्छ।

अन्ततः नेपालको कृषि यान्त्रीकरणको लक्ष्य खेतमा मेसिनको सङ्ख्या बढाउनु मात्र होइन, अनुसन्धानबाट प्रमाणित, भूगोलअनुकूल र किसानको आर्थिक क्षमताले धान्न सक्ने प्रविधिमार्फत कृषि उत्पादन प्रणालीलाई रूपान्तरण गर्नु हो। अनुसन्धान, नवप्रवर्तन, स्वदेशी प्रविधि विकास र किसानको आवश्यकतामा आधारित यान्त्रीकरणलाई एकीकृत रूपमा अगाडि बढाउन सके नेपालको कृषि क्षेत्रलाई उत्पादनमुखी, प्रतिस्पर्धी, समावेशी र दिगो बनाउन महत्त्वपूर्ण योगदान पुग्नेछ।

लेखक परिचय :
शैलेन्द्र खत्री नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गत राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्र, खुमलटार, ललितपुरमा कार्यरत वैज्ञानिक हुनुहुन्छ। उहाँ कृषि यान्त्रीकरण, सिँचाइ प्रविधि तथा दिगो कृषि प्रणालीसम्बन्धी अनुसन्धान र प्रविधि विकासमा संलग्न हुनुहुन्छ।