काठमाडौं। चालु आर्थिक वर्ष पहिलो चार महिनामा नेपालले सवा १ अर्ब हाराहारी मूल्यको लसुन आयात गरेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार आव २०८३/८४ साउनदेखि कात्तिक मसान्तसम्म कुल ७ हजार ४ सय ३८ टन (७४ लाख ३८ हजार २ सय ९२ किलो) लसुन आयात भएको छ ।
उक्त परिमाणको लसुन भित्र्याउन १ अर्ब १६ करोड ९२ लाख ८१ हजार रुपैयाँ बाहिरिएको छ भने लसुन आयातबाट राज्यले २८ करोड २७ लाख ४० हजार रुपैयाँ भन्सार राजस्व संकलन गरेको छ ।
गत आव २०८२/८३ सोही अवधिको तुलनामा यस वर्ष लसुन आयात निकै बढेको देखिएको छ । गत आव साउन–कात्तिक अवधिमा कुल ५ हजार ४ सय ७ टन (५४ लाख ७ हजार ५१ किलो) लसुन आयात भएको थियो ।
त्यतिबेला ७४ करोड १७ लाख ७ हजार रुपैयाँ बराबरको लसुन भित्रिँदा सरकारले १८ करोड ४ लाख ५१ हजार रुपैयाँ राजस्व प्राप्त गरेको थियो ।
गत वर्षको तुलनामा यस वर्ष चार महिनामा लसुन आयात परिमाण २ हजार ३१ टन (२० लाख ३१ हजार २ सय ४१ किलो) अर्थात् ३७.५७ प्रतिशत वृद्धि भएको छ ।
त्यस्तै आयात मूल्य ४२ करोड ७५ लाख ७४ हजार अर्थात् ५७.६५ प्रतिशत र भन्सार राजस्व १० करोड २२ लाख ८९ हजार अर्थात् ५६.६९ प्रतिशत उकालो लागेको छ ।
आयातित लसुनमा ताजा तथा चिस्याइएको लसुनको हिस्सा सबैभन्दा ठूलो छ । चालु आव चार महिनामा ६ हजार ९ सय टन (६९ लाख ४ सय ९० किलो) ताजा लसुन ९९ करोड ७८ लाख ५३ हजार रुपैयाँमा आयात भएको छ । जसबाट २४ करोड २७ लाख ८० हजार रुपैयाँ राजस्व उठेको छ ।
गत वर्ष सोही अवधिमा ४ हजार ८ सय ७० टन (४८ लाख ७० हजार २ सय ४१ किलो) ताजा लसुन ६४ करोड ७१ लाख ४ हजार रुपैयाँमा भित्रिएको थियो र १५ करोड ८४ लाख २३ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।
गत वर्षको तुलनामा ताजा लसुन आयात परिमाण ४१.६९ प्रतिशत र मूल्य ५४.२० प्रतिशत बढेको हो ।








