ललितपुर। नर्सरी व्यवसायी संघ, नेपालले तिहारलाई मध्यनजर गर्दै कात्तिक १७ गतदेखि काठमाडौंमा तिहार फ्लोरा एक्स्पो आयोजना गर्ने भएको छ।
संघले भदै १ गते सूचना जारी गर्दै कात्तिक १७ गते देखि २१ सम्म तिहारको उत्सव, फूलको महोत्सव भन्ने नाराका साथ भृकुटीमण्डपमा एक्स्पो आयोजना गर्न लागेको हो।
उक्त एक्स्पोमा देशका विभिन्न भागबाट नर्सरी व्यवसायीको सक्रिय सहभागिता रहने मेला संयोजक तथा संघका उपाध्यक्ष लक्ष्मी महर्जनले जानकारी दिईन् ।
मेलामा विभिन्न प्रजातिका फूल तथा नफुल्ने आलंकारिक फूलका बिरुवालगायत कृषि तथा जडीबुटी नर्सरी र फलफूलका नर्सरीबाट उत्पादित बोटबिरुवाहरू प्रदर्शनी तथा बिक्रीमा राखिने उनको भनाइ छ। मेलामा सहभागी हुन चाहने व्यवसायीहरूका लागि स्टल बुकिङको समयतालिका समेत सार्वजनिक गरिएको छ ।
स्टल शुल्कको हकमा सदस्यहरूका लागि २५ हजार रुपैयाँ र गैर–सदस्यहरूका लागि ४० हजार रुपैयाँ तोकिएको छ ।
नर्सरी व्यवसायी संघ, नेपालले यस भव्य प्रदर्शनीमा सहभागी भई पुष्प व्यवसायको विकासमा सहयोग पुर्याउन र फूलको सौन्दर्यको आनन्द लिन पुष्प व्यवसायी, किसान, उद्यमी तथा सम्पूर्ण सर्वसाधारणमा आग्रह गरेको छ ।










