ललितपुर। नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डिडिसी), साना किसान सहकारी संस्थाहरूको छाता सङ्गठन नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेड (एनएसीसीएफएल) र राष्ट्रियस्तरको थोक कर्जा प्रदायक साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडबीच दुग्ध क्षेत्रको एकीकृत विकासका लागि समझदारी भएको छ ।
दूध आपूर्तिको बजारीकरण, दुग्ध उत्पादक किसानको हित संरक्षण तथा मुलुकलाई दूधमा आत्मनिर्भर बनाउने साझा उद्देश्यसहित तीन संस्थाबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
समझदारीअनुसार डिडिसीले साना किसान कृषि सहकारी संस्थाहरूबाट उत्पादित दूध खरिद गर्नेछ । किसानको क्षमता अभिवृद्धिमा सहयोग गर्ने, दूधको भुक्तानीमा एक महिनाभन्दा बढीको बक्यौता नराख्ने तथा दूध संकलनस्थलमै गुणस्तर र तौल निर्धारण गर्ने व्यवस्था मिलाइनेछ ।
त्यसैगरी, साना किसान विकास लघुवित्त वित्तीय संस्थाले दुग्ध उत्पादक किसानलाई पशुपालन तथा दुग्ध व्यवसायसँग सम्बन्धित कार्यका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ । दुग्ध उत्पादन बढाउन आवश्यक ‘दूध पकेट क्षेत्र’ निर्माणमा समेत संस्थाले सहयोग गर्ने समझदारी भएको छ ।
डिडिसीले सिफारिस गरेका स्थानमा पशुपालन व्यवसाय विस्तार तथा दुग्ध उत्पादन वृद्धि गर्न सहुलियतपूर्ण कर्जाको व्यवस्था गरिनेछ । साथै, नेपाल सरकार तथा सम्बन्धित निकायबाट आवश्यक सहयोग र अनुमति लिएर डिडिसीमार्फत किसानलाई हुने दूधको भुक्तानी प्रक्रियालाई समेत सहजीकरण गर्ने लघुवित्त संस्थाले जनाएको छ ।
नेपाल कृषि सहकारी केन्द्रीय संघले साना किसान कृषि सहकारी संस्थाहरूको तर्फबाट प्रतिनिधित्व गर्दै डिडिसीसँग आवश्यक समन्वय र सहकार्य गर्नेछ । किसानको क्षमता अभिवृद्धि तथा साना किसान कृषि सहकारी संस्थाहरूको दुग्ध व्यवसायसँग सम्बन्धित पूर्वाधार निर्माणका लागि आवश्यक समन्वय र सहयोग जुटाउने जिम्मेवारीसमेत संघले लिनेछ ।
समझदारीअनुसार चालु आर्थिक वर्षमा दैनिक ६० हजार लिटर दूधको कारोबार गर्ने लक्ष्य राखिएको छ । यसबाट साना किसानले उत्पादन गरेको दूधको सुनिश्चित बजार विस्तार हुनुका साथै डिडिसीको दूध संकलन तथा बजारीकरण प्रणालीलाई समेत थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
समझदारीपत्रमा डिडिसीको सञ्चालक समितिमा साना किसानको प्रतिनिधित्व सुनिश्चित गर्न आवश्यक पहल गर्ने विषयसमेत समेटिएको छ । यसले दूध उत्पादनमा प्रत्यक्ष संलग्न किसानको संस्थागत सहभागिता बढाउने अपेक्षा गरिएको छ ।
तीन संस्थाबीच आगामी भदौ १ गतेदेखि साना किसानको दूध संकलन सुरु गर्ने सहमति समेत भएको छ । दूध संकलनका लागि आवश्यक पूर्वाधार, गुणस्तर परीक्षण, तौल तथा भुक्तानी प्रणालीलाई व्यवस्थित बनाउने तयारी भइरहेको जनाइएको छ ।
समझदारीपत्रमा डिडिसीका तर्फबाट नेपाल सरकारका सहसचिव तथा डिडिसीका महाप्रबन्धक डा. शरणकुमार पाण्डे, साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बासु अधिकारी र नेपाल कृषि सहकारी केन्द्रीय संघका तर्फबाट महाप्रबन्धक डा. रुद्रबहादुर श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
दुग्ध क्षेत्रमा किसान, सहकारी, वित्तीय संस्था र सरकारी स्वामित्वको दुग्ध संस्थानबीच भएको यो सहकार्यले दूध उत्पादनदेखि संकलन, प्रशोधन, बजारीकरण र किसानलाई भुक्तानीसम्मको शृङ्खला बलियो बनाउने अपेक्षा गरिएको छ । यसबाट साना किसानको दूधले नियमित बजार पाउनुका साथै उत्पादन लागत व्यवस्थापन, पशुपालनमा लगानी र दुग्ध उत्पादन विस्तारमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ ।









