ललितपुर। नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको फार्म समर्थन बिक्री मूल्य बढाएको छ। संघले २०८३ साउन २९ गते काठमाडौंमा भौतिक तथा भर्चुअल माध्यमबाट भएको बैठकमा देशभरका अण्डा उत्पादक किसानको राय, परामर्श तथा सिफारिसका आधारमा नयाँ मूल्य निर्धारण गरेको जनाएको छ।
संघका अनुसार २०८३ साउन ३० गतेदेखि चितवनलाई आधारमानी अण्डाको फार्म समर्थन बिक्री मूल्य लागू हुने भएको छ।
नयाँ मूल्यअनुसार एक्सएल अण्डा प्रतिक्रेट रु. ५७५, ठूलो अण्डा रु. ५६० र मिडियम अण्डा रु. ५२० कायम गरिएको छ। त्यस्तै, सानो अण्डाको मूल्य रु. ३,२०० प्रति पेटी निर्धारण गरिएको छ।
संघले तोकिएको फार्म समर्थन मूल्यमा कारोबार गर्न सम्बन्धित व्यवसायी तथा सरोकारवालालाई अनुरोध गरेको छ। साथै, सूचनामा उपभोक्ता मूल्य प्रति गोटा रु. २५ कायम गरिएको उल्लेख छ।
पछिल्लो समय अण्डाको उत्पादन घट्नु, बजार माग बढ्नु तथा कुखुरापालन क्षेत्रमा देखिएका विभिन्न समस्याका कारण अण्डाको मूल्यमा निरन्तर उतारचढाव देखिएको छ। यसअघि पनि नेपाल लेयर्स कुखुरापालक संघले किसानको लागत र बजार अवस्थालाई आधार बनाएर समर्थन मूल्य समायोजन गर्दै आएको छ।
संघका सचिव मदन पोखरेलद्वारा जारी सूचनामा नयाँ मूल्यमा कारोबार गरी अण्डा उत्पादक किसानलाई राहत पुग्ने वातावरण बनाउन आग्रह गरिएको छ।









