चितवन। चितवनको कालिका नगरपालिका -१, लंकालाइनमा एसोसिएसन अफ एग्रिकल्चर टेक्नोलोजी इन्डस्ट्री (आटी) नेपालको २ दिने ‘कृषि उद्योगी तथा उद्यमी सम्मेलन : उद्यमशिलताका तथा नवप्रर्तन विस्तार कार्यक्रम’ सम्पन्न भएको छ । कृषिका लागि चाहिने औजार तथा प्रविधि उत्पादन गर्ने उद्योगी र कृषि व्यवसायीहरू सम्मिलित उक्त सम्मेलनमा सहभागीहरूले देशमा कृषि उद्यमशीलता बढाउन समयानुकूल ऐन-नियम बन्नुपर्नेमा जोड दिएका छन् ।
देशको दुई तिहाइ जनसंख्या कृषिमा आबद्ध रहेकाले यसलाई प्रविधिमैत्री र व्यवस्थित बनाउन सके तीव्र आर्थिक वृद्धि हासिल हुने धारणा आटी नेपालका अध्यक्ष खोजराज कटुवालले । यस्तै, आटी नेपालका कोषाध्यक्ष राजिव खनालले निर्वाहमुखी कृषिलाई औद्योगिकीकरणतर्फ लैजान कृषि ऐनका साथै छुट्टै ‘कृषि औद्योगिक ऐन’ को आवश्यकता औँल्याए । खनालले कृषि आयोग र प्राधिकरण गठन गरी नीतिगत तथा प्राविधिक सुधार गर्न आग्रह गर्दै रासायनिक मल जस्तै प्राङ्गारिक मलमा पनि अनुदान दिए माटोको गुणस्तर सुधार हुने र प्रविधिको प्रयोगले उत्पादन लागत घट्ने बताए । साथै, कृषि उत्पादन र प्रशोधनमा निजी क्षेत्र र सहकारीको भूमिका विस्तार गर्न स्पष्ट नीतिगत व्यवस्था हुनुपर्ने खनालको माग थियो ।

त्यसैगरी, कृषि मन्त्रालयका सह-सचिव जगन्नाथ तिवारीले अनुदान पाएको पुस्ताका सन्तानहरू कृषिमा नजोडिएसम्म दिगो सफलता नहुने टिप्पणी गरे । तिवारीले नेपालको भूगोल र हावापानी अनुसारको यान्त्रिकीकरण अपनाउँदै कृषि उत्पादन, प्रशोधन र अनुसन्धानको क्षेत्रमा रहेका अवसरहरूलाई उपयोग गर्नुपर्नेमा जोड दिए । त्यस्तै, संसदीय कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोक कुमार चौधरीले आउँदो वर्ष ७ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य हासिल गर्न कृषि क्षेत्रको भूमिका निर्णायक हुने बताए । सरकारले आर्थिक वर्ष २०८३/०८४ लाई मा ‘कानुन सुधार वर्ष’ घोषणा गरेको सन्दर्भमा कृषि क्षेत्रसँग सम्बन्धित १३ वटा कानुनमा सुधार गर्ने योजना समितिले अघि बढाएको चौधरीले जानकारी दिए ।

प्रशासनिक झन्झट हटाई निजी क्षेत्रलाई जोड्न र समस्या समाधान गर्न समिति प्रतिबद्ध रहेको चौधरीले उल्लेख गरे । उक्त सम्मेलनमा गण्डकी प्रदेश सभाका सभामुख कृष्णप्रसाद धिताल, नेपाल नगरपालिका सघंका अध्यक्ष भिम प्रसाद ढुङ्गाना, गाउँपालिका राष्ट्रिय महासंघकी अध्यक्ष लक्ष्मी देवी पाण्डे, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम व्यवस्थापन एकाइका वरिष्ठ इन्जिनियर डा.इ. जीत बहादुर चन्द, चितवनको कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मी, केरा उत्पादन महासंघका अध्यक्ष विष्णुहरि पन्त, चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडका अध्यक्ष किशोर बगाले, कृषकहरु, व्यवसायीहरुलगायतको उपस्थित रहेको थियो ।









