म्याग्दी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ मा रहेका प्रमुख दुई पर्यटकीयस्थल जोड्ने पदमार्ग निर्माण सुरु भएको छ । अन्नपूर्ण गाउँपालिकाको काफलडाँडामा रहेको करपाकेलीबाट राम्चेको शिर आलडाँडा हुँदै समुद्री सतहबाट तीन हजार तीन सय मिटर उचाइमा रहेको मोहरेडाँडा जोड्ने पदमार्ग निर्माण सुरु भएको हो ।

अन्नपूर्ण गाउँपालिका–८ का वडाध्यक्ष खमबहादुर गर्बुजाले गण्डकी प्रदेश सरकारको सशर्त अनुदानमा उपभोक्ता समितिमार्फत पदमार्ग निर्माण गर्न लागिएको जानकारी दिए । “प्रदेश सरकारबाट प्राप्त रु. ३० लाख बजेटबाट पदमार्ग बनाउन लागिएको हो”, उनले भने, “जङ्गल, खोल्सा, भिर र साँघुरो ठाउँमा ढुङ्गाको सिँढी चिनेर पैदलमार्गका साथै दुईवटा विश्रामस्थल बनाउने योजना छ ।”

करवाकेलीबाट आलडाँडासम्म र आलडाँडाबाट मोहरेडाँडासम्म दुईवटा खण्ड बनाएर पदमार्ग निर्माणमा स्थानीय मजदुर परिचालन गरिएको छ । पर्यटकलाई आश्रयका लागि सम्धीखर्क र आलडाँडामा दुईवटा प्रतिक्षालय भवन निर्माण गरिने करवाकेली–मोहरेडाँडा पर्यटन पदमार्ग उपभोक्ता समितिका अध्यक्ष गमबहादुर पुर्जाले बताए ।

करवाकेली–आलडाँडा खण्डको पदमार्ग बनाउने जिम्मा काफलडाँडा टोलका उपभोक्ताले लिएका छन् । राम्चेका उपभोक्ताले आलडाँडाबाट मोहरेडाँडा खण्डको जिम्मा लिएका छन् । एक समूहमा दैनिक १०–१५ देखि १५–२० जनाका दरले मजदुर परिचालन गरिएको छ । आगामी जेठ मसान्तसम्म पदमार्ग निर्माण गरिसक्ने लक्ष्य छ । ढुङ्गा चिन्नुका साथै पुरानो बाटोको झाडी सफाइ तथा माटो काटेर व्यवस्थित पदमार्ग बनाइने अन्नपूर्ण गाउँपालिकाका इञ्जीनियर ईश्वर भण्डारीले बताए ।

बस्तीबाट टाढा र भुइँमा बिछ्याउने ढुङ्गा नपाइदा पदमार्ग निर्माणमा चुनौती बनेको छ । पदमार्ग निर्माण भएपछि पर्यटक र स्थानीयवासीलाई आवतजावतमा सहज हुनुका साथै बाटो बिराउने समस्या हट्ने अपेक्षा गरिएको छ ।

पर्यटकको आगमन बढेसँगै व्यवस्थित पदमार्ग बनाउन लागिएको वडाध्यक्ष गर्बुजाले बताए । अन्नपूर्ण गाउँपालिकाको वडा नं ६ मा पर्ने घोडेपानी, पुनहिलबाट मोहरेडाँडा–करवाकेली हुँदै बेनी–जोमसोम सडकअन्तर्गत पर्ने रघुगङ्गा गाउँपालिकाको बैसरी पुग्न सकिन्छ ।

गुराँसको जङ्गल, पुन समुदायको करवाकेली थान, सङ्ग्रहालय, ग्रामीण बस्ती, जीवनशैली, वनजङ्गल, वनस्पति र वन्यजन्तु करवाकेली–मोहरेडाँडा पदमार्गका आकर्षण हुन् । यो पदमार्गले करवाकेली र अन्नपूर्ण–धवलागिरि सामुदायिक पदमार्गलाई जोड्छ । करवाकेली र पुनहिलबाट तीन घण्टा पैदल हिँडेपछि पुगिने मोहरेडाँडा पछिल्लो समय पर्यटकको आकर्षण बढेको छ । यहाँबाट सूर्योदय, सूर्यास्त, सिस्ने, गुर्जा, धवलागिरि, अन्नपूर्ण, निलगिरि, माछापुच्छ्रे, मनास्लु हिमाल, म्याग्दी, पर्वत, बागलुङ, कास्की, स्याङ्जा र पाल्पाको भूगोल अवलोकन गर्न सकिन्छ ।

रासस