ललितपुर। नजिकिँदै गरेको दीपावली तिहार) पर्वलाई लक्षित गर्दै काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र प्लास्टिकजन्य फूल, फूलको माला तथा सजावटका विभिन्न सामग्री बिक्री वितरणमा पूर्ण रूपमा रोक लगाएको छ ।

महानगरले स्वदेशी फूल र मालाको प्रयोगलाई प्राथमिकता दिई बिक्री वितरण गर्न सम्पूर्ण व्यवसायी, व्यापारी तथा सर्वसाधारणमा अनुरोध गरेको छ ।

महानगर प्रहरी बलले एक सूचना जारी गर्दै सूचनाको अवज्ञा गरी कसैले प्लास्टिकजन्य वा गुणस्तर कायम नभएका फूल, फूलको माला तथा सजावटका सामग्री बिक्री वितरण गरेको पाइएमा त्यस्ता सम्पूर्ण सामग्रीहरू जफत गरिने चेतावनी दिएको छ ।

यसैगरी, नेपाली किसानहरूले उत्पादन गरेका फूल र मालाहरूले उचित बजार पाउन् र सर्वसाधारणलाई खरिद गर्न सहज होस् भन्ने उद्देश्यले महानगर प्रहरी बलले सरोकारवाला निकायहरूसँगको समन्वयमा बिक्री वितरणका लागि विभिन्न स्थानहरू तोकेको छ ।

काठमाडौं महानगरभित्र ३३ क्षेत्र :

महानगरले स्वदेशी फूल तथा माला बिक्रीका लागि नयाँ बानेश्वरको एनबी सेन्टर र आईप्लेक्स मल, शंखमुलको बिग मार्ट, मध्य बानेश्वरको सेल्स बेरी, बत्तीसपुतलीको फोनेक्स टावर, तीनकुने चौर र सिफल चौरलाई तोकेको छ ।

त्यसैगरी चाबहिल क्षेत्रमा एसी कम्प्लेक्स, गणेशस्थान तरकारी बजार र केएलटावर अगाडि फूल बेच्न पाइनेछ । कमलादीस्थित आइटी बिल्डिङ, पुतलीसडकको स्टार मल, अनामनगरको भाटभटेनी, सुन्धाराको काठमाडौं मल, न्युप्लाजाको बज्र कम्प्लेक्स ९गुड मार्ट०, स्वयम्भूको धर्म चक्र पार्क, कलङ्कीको भाटभटेनी, नयाँ बजारको भ्याली कोल्ड स्टोर र माछापोखरीको बुद्ध मल तथा गुणस्तर खाल्डोमा पनि बिक्रीस्थल तोकिएको छ ।

यसका अतिरिक्त कालिमाटीको कालिमाटी ब्याङ्क्वेट र चौखेल, हाँडीगाउँको वडा नम्बर ५ कार्यालय अगाडिको डबली र गणेश मन्दिर डबली, सामाखुशीको कोइराला स्मार्ट, महाराजगञ्जको सेल्सबेरी, गोंगबु, चप्पलकारखाना र बालुवाटारको बिग मार्टमा पनि फूल बेच्न सकिनेछ ।

साथै, टेबहाल मन्दिर परिसर, लगन, जैसिदेवल र भृकुटीमण्डपलाई पनि फूल बिक्री स्थलका रूपमा तोकिएको महानगरले जनाएको छ ।

यस विषयमा थप सहजीकरण आवश्यक परेमा व्यवसायी तथा सर्वसाधारणले काठमाडौँ महानगर प्रहरी बलको कार्यालयमा सम्पर्क गर्न सक्ने सूचनामा उल्लेख गरिएको छ ।