कास्की।  पोखरा महानगरपालिका वडा नम्बर -३१ स्थित बेगनासताल किनारमा ‘माछाको स्वाद, संस्कृतिको पहिचान, हाम्रो मौलिकताको सम्मान’ भन्ने नाराका साथ ‘छैटौं बेगनास फिस फेस्टिबल २०८३’ शुक्रबारदेखि सुरु भएको छ । होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथको आयोजनामा सुरु भएको फेस्टिबलको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गर्दै यस्ता फेस्टिबलले बेगनास ताल आसपासका पर्यटकीय स्थलको प्रचारप्रसार तथा आन्तरिक र बाह्य पर्यटकहरु आकर्षित गर्न महत्वपूर्ण भूमिका खेलेको बताए ।

पोखरामा पर्यटकहरुको बसाइ लम्याउन पोखरा र लेखनाथ क्षेत्रमा रहेका ९ वटा तालहरुलाई जोड्ने गरी साइकल लेन सहितको सडक निर्माणको काम सुरु गरिएको सो अवसरमा आचार्यले जानकारी दिए । बेगनास ताललाई वाटर स्पोट्र्सको केन्द्रका रूपमा विकास गर्न सकिने पनि आचार्यले बताए । यस्तै, गण्डकी प्रदेशकी प्रमुख सचिव आवास श्रेष्ठले फेस्टिबलले स्थानीय स्रोत-साधनको परिचालन, रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्र सुदृढ बनाउन सहयोग पुग्ने बताए । श्रेष्ठले स्थानीय किसानहरु, युवा तथा व्यवसायीहरुलाई पर्यटनसँग जोड्दै दिगो विकासमा लाग्न आग्रह गरे ।

त्यसैगरी, होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथका अध्यक्ष एवं महोत्सव संयोजक सुरेश लामिछानेले फेस्टिबलमा स्थानीय जातका माछा तथा माछा पालनसम्बन्धी प्रदर्शनी, माछाका परिकारको बिक्री, राष्ट्रिय कलाकारका साङ्गीतिक प्रस्तुति, पप कन्सर्ट, व्यापारिक मेला, देउसीभैलो प्रतियोगिता तथा विभिन्न कम्पनीका उत्पादनको प्रदर्शनी र बिक्री गरिने बताए । त्यस्तै, पोखरा महानगरपालिका वडा नम्बर ३१ का वडाध्यक्ष ढकनाथ कँडेलले फेस्टिबलले बेगनासलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन सहयोग पुग्ने बताउँदै धार्मिक स्थल, बराह मन्दिर क्षेत्र र वाटर स्पोट्र्सका पूर्वाधार निर्माणलाई तीव्रता दिइएको जानकारी दिए । यसैगरी, लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुली अधिकारीले पर्यटन प्रवद्र्धनका लागि निजी क्षेत्रबीच समन्वय र सहकार्य आवश्यक रहेको बताइन् ।

कार्तिक २३ गतेसम्म सञ्चालन हुने फेस्टिबलले स्थानीय उत्पादनको खपत बढाउनुका साथै बेगनास क्षेत्रको पर्यटन र आर्थिक गतिविधि विस्तार गर्ने लक्ष्य राखेको आयोजकले जनाएको छ । फेस्टिबलबाट बचत भएको रकम तालबाराही, गोरखनाथ मन्दिर तथा बेगनास ताल क्षेत्रको विकासमा खर्च गरिने जनाइएको छ । आयोजकका अनुसार गोर्खा ब्रुअरी नेपाल मुख्य प्रायोजकको रुपमा रहेको छ, भने पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, प्रदेश सरकार गण्डकी प्रदेश र पोखरा महानगरपालिका वडा नं. ३१ लगायत विभिन्न स्थानीय संघरसंस्थाको आर्थिक सहयोग रहेको बताइएको छ ।