ललितपुर। फ्लोरिकल्चर एशोसिएशन नेपालको आयोजनामा जावलाखेलमा जारी १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा वर्षाका बीच पनि अवलोकनकर्ताको चहलपहल देखिएको छ।

प्रदर्शनीको दोस्रो दिन लगातार पानी परिरहे पनि फूलप्रेमीहरू छाता ओढेरै मेला स्थल पुगेका हुन्। अवलोकनसँगै विभिन्न प्रजातिका गोदावरी फूल तथा अन्य पुष्पजन्य सामग्री खरिद गर्न दर्शकको उपस्थिति उल्लेख्य रहेको आयोजकले जनाएको छ।

जावलाखेलस्थित प्रदर्शनी स्थलमा विभिन्न रंग, आकार र प्रजातिका गोदावरी फूल सजाइएका छन्। प्रतियोगितात्मक प्रदर्शनी भएकाले व्यावसायिक उत्पादक तथा नर्सरीहरूले आफ्ना उत्कृष्ट उत्पादन प्रदर्शनमा राखेका छन्।

मौसम प्रतिकूल हुँदासमेत अवलोकनकर्ताको उत्साह कायमै देखिनुले फूल तथा पुष्प व्यवसायप्रति सर्वसाधारणको आकर्षण बढ्दो रहेको आयोजकको भनाइ छ। प्रदर्शनीमा अवलोकनसँगै फूलका बिरुवा, सजावटी पुष्प तथा बगैंचासम्बन्धी सामग्री खरिदको अवसरसमेत उपलब्ध छ।