ललितपुर। फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान)द्वारा कार्तिक १२ गतेदेखि ललितपुरको जावलाखेलस्थित खेल मैदानमा आयोजित ‘१९ औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८३’ को दुई दिन समय थप गरिएको छ ।

फ्लोरिकल्चर एशोसिएसन नेपालका उपाध्यक्ष तथा मेला संयोजक सुमन महर्जनका अनुशार पुष्प प्रेमिहरुको माग र कार्तिक १३ देखि १४ गते लगातार परेको वर्षाका कारण २ दिन समय थप गरिएको हो अव प्रदर्शनी कार्तिक १८ गते सम्म संचालन हुने छ । ‘रोपेर फूल गोदावरी, सजाऔ घर आँगन वरिपरि’ भन्ने नाराको साथ सुरु भएको प्रदर्शनीमा व्यवसायिक स्टल ७८ वटा, प्लान्ट क्लिनिक स्टल १ वटा, अफिसियल स्टल ४ वटा, प्रतियोगितात्मक स्टल २ वटा र फोटो सेल्फी स्टल १ गरी जम्मा ८६ वटा प्रदर्शनी कक्षहरु रहेका छन् ।

आयोजकका अनुसार प्रदर्शनीमा नेपालमा व्यवसायीक रुपमा उत्पादन हुँदै आएको विविध जातका गोदावरी फूल बिरुवाहरुको साथै यस वर्ष भित्रिएका नयाँ गोदावरी फूलको केही प्रजातिका फूल बिरुवाहरुको सहित ४ सय ५० भन्दा बढी प्रकारको फूल बिरुवाहरु प्रदर्शीत तथा बिक्री र वितरणको लागि राखिएको छ ।

फ्यानले पुष्प व्यवसायको व्यवसायीक विकास विस्तार तथा प्रवर्द्धन गर्ने उद्धेश्यले वि.सं.२०५१ सालदेखि लगातार रुपमा पुष्प प्रदर्शनीको आयोजना गर्दै आएको छ ।