बाजुरा। बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा खाद्य बिक्री केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी बाजुराको सहयोगमा खाद्यान्न बिक्री केन्द्र स्थापना गरिएको स्वामीकार्तिक खापर गाउँपालिका अध्यक्ष भरत रोकायाले जानकारी दिए ।
उनले यहाँका नागरिकले कोेल्टीमा गएर खाद्य ल्याउनुपर्ने बाध्यता हटाउनका लागि पालिकामा नै खाद्य बिक्री केन्द्र स्थापना गरिएको बताए । अब खाद्यान्न लिनका लागि पालिकाका स्थानीयवासीले कोल्टी डिपो केन्द्रमा एक दिनको पैदल हिँडेर लिनुपर्ने बाध्यता भने हटेको छ ।

दैनिक रुपमा पिलचौर बजार वा कोल्टी खाद्य डिपो गएर खाद्यान्न ल्याउने गरेका स्थानीयवासीलाई पालिकामा नै बिक्री केन्द्र स्थापना गरेपछि सहज भएको गाउँपालिकाका अध्यक्ष रोकायाको भनाइ छ ।

खाद्य बिक्री केन्द्रको शुभारम्भ गर्नुहुँदै राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त कमला ओलीले दुर्गम ठाउँमा रहेको पालिकामा राज्यले छिटोभन्दा छिटो खाद्यान्न डिपो नै स्थापना गर्नुपर्ने बताएका छन् । उनले विकट तथा दुर्गम पालिकाहरुका नागरिकलाई सहज रुपमा दैनिक उपभोग्य सामग्री उपलब्ध गराउन प्रत्येक पालिकाहरुमा खाद्य, नुन डिपोहरु नै स्थापना गर्नुपर्नेमा जोड दिए । गाउँपालिकावासीले घन्टौँ टाढा रहेको कोल्टी, पिलुचौर लगायतका बजारमा गएर महँगो मूल्यमा खाद्यन्न किनेर खाने गरेका थिए ।

गाउँपालिका नागरिकलाई बजारको भन्दा सस्तो र सुलभ मूल्यमा खाद्यान्न उपलब्ध गराउनका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँगको सहकार्यमा गाउँपालिकामै पहिलोपटक खाद्यान्न बिक्री केन्द्र स्थापना गरेको गाउँपालिकाका उपाध्यक्ष मैना जोशीले बताए । गाउँपालिकामा पहिलोपटक खाद्यान्न बिक्री केन्द्र स्थापना भएपछि यहाँका स्थानीयवासीलाई घन्टौँ हिँडेर बजारको महँगो मूल्यमा चामल किनेर खानुपर्ने बाध्यता हटेको छ ।

पालिकामा बिक्री केन्द्र सञ्चालन गरिए पनि डिपो नै राख्ने गरी प्रदेश र सङ्घमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग समन्वय भइरहेको गाउँपालिकाका अध्यक्ष रोकायाको भनाइ छ । पालिकामा खाद्य र नुन डिपो स्थापना गरी नागरिकलाई सहज रुपमा खाद्यान्न उपलब्ध गराउने गरी पहल भइरहेको जनाइएको छ ।
रासस/फाइल फोटो