बनियानी। झापा कनकाई नगरपालिकाका पशुपालक कृषक पशु बीमावापतको रकम पाएपछि दङ्ग परेका छन् । पशु बीमा गराएका कृषकले पशुको मृत्यु भएपछि बीमावापतको रकम प्राप्त गरेका हुन् ।

कनकाई–८ का प्रेम कार्कीले रु. १२ हजारको बाख्राको बीमा गरेकामा रु. १० हजार आठ सय पाएको बताउनुभयो । “पशु बीमा नगरेको भए घाटा लाग्थ्यो होला, बीमा गरेकाले घाटा लागेन, बीमा रकम पाएकामा खुसी लागेको छ”, उहाँले भन्नुभयो, “मैले सबै गाईवस्तुको बीमा गराएको छु ।”

त्यस्तै अर्का कृषक दीपककुमार पाण्डेले बाख्रापाठाको रु. १३ हजारको बीमा गराउनुभएकामा बीमावापतको रकम पाउनुभएको छ । उहाँले अन्य कृषकले पनि सरकारले ल्याएको पशु बीमा कार्यक्रममा सहभागी हुनुपर्नेमा जोड दिनुभयो । कनकाईमा कनकाई नगरपालिकाको आर्थिक सहयोग, हेफर प्रोजेक्ट नेपालको प्राविधिक सहयोग र अभियान नेपालको सहजीकरणमा साझेदारीमा कृषि तथा पशुपालन उद्यमशीलता विकास परियोजनाअन्तर्गत पशु बीमा कार्यक्रम सञ्चालन भइरहेका छ ।

कार्की र पाण्डेजस्तै कनकाईका पशुपालक कृषकले रु. छ हजार तीन सयदेखि रु. एक लाख ३६ हजारसम्म पशु बीमावापतको रकम पाएका छन् । नगरपालिकाले बीमा गरेका ३७ पशुको कुल रु. १० लाख ५७ हजार सात सय बीमा रकम कृषकलाई प्रदान गरिएको हेफर प्रोजेक्ट नेपालका कर्मचारी चन्दा सिटौलाले जानकारी दिनुभयो ।

कनकाई नगरपालिकाले सरकारले लागू गरेको पशु बीमाअन्तर्गतको पशु बीमा गर्न चाहने कृषकको बीमावापत ७५ प्रतिशत रकम व्यहोर्ने गरेको छ । सरकारले लागू गरेको पशु बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन र कृषकलाई पशु बीमा कार्यक्रममा सहभागी गराउन नगरपालिकाले बीमा रकममा समेत अनुदान दिइरहेको कनकाई नगर प्रमुख राजेन्द्र पोखरेलले बताउनुभयो ।

“कृषकलाई पशुपालनमा प्रोत्साहन गर्न र केही भइहाले त्यसवापतको राहत दिन नगरपालिकाले सरकारको नीतिअनुरुप थप सहयोग गरिरहेको छ”, उहाँले भन्नुभयो, “पशु बीमा कार्यक्रमबाट केही कृषकले लाभ लिइरहनुभएको छ, केहीले लिनुभएको छैन, सबै कृषकलाई पशु बीमा गराएर सुरक्षित र व्यावसायिक पशुपालन गर्न म आग्रहसमेत गर्दछु ।”
रासस