गलेश्वर। अहिले म्याग्दीमा मकै गोड्ने, मल बोक्ने र धानको बीउ राख्ने समय छ । कृषकहरु खेतबारीमा मल बोक्ने, मकै गोड्ने र धानको बीउ राख्ने काममा व्यस्त छन् ।
खेतबारीका गह्रा जता हे¥यो, त्यतै गोठे मलले भरिभराउ छन् । कुनै ठाउँमा मकै लगाउने काम सकिएको छ भने कुनै ठाउँमा मकै छर्ने तयारी हुँदैछ । किसान मलबोक्नमा व्यस्त छन् । प्राङ्गारिक मलको महत्व बुझ्न थालेपछि किसान अहिले गोठे मलको प्रयोग गर्न थालेका छन् । यसले उत्पादन पनि बढाएको छ भने माटो पनि सुधारेको छ ।

गत वर्षदेखि किसानले खेतबारीमा रासायनिक मलको प्रयोग कम गर्दै गएका मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले बताए । बजारबाट ल्याइने रासायिकन मलको सट्टा गोठेमलको प्रयोग बढ्दै जाँदा माटोको अम्लियपना पनि कम हुँदै गएको उनले बताए ।

म्याग्दीका सबै गाउँका बासिन्दा खेतीपाती गर्छन् । गाउँका सबैका घरमा भैँसी, गाई, बाख्रा छन् । गाई बस्तुबाट उत्पादन हुने गोठे मल सङ्कलन गरेर किसानले गोठे मलकै प्रयोग गर्ने गर्दछन् । बेनी नगरपालिका–४ सिंगाका कृषक नारायण पौडेलले तरकारी खेती गर्न थालेको पाँच वर्ष भयो । उनले सुरु सुरुमा एउटै जमिनमा छोटो समयमै पटक–पटक उत्पादन लिन रासायनिक मल प्रयोग गर्थे ।

गोठे मल अर्थात् प्राङ्गारिक मलको महत्व बुझन थालेपछि कृषक पौडेलले गोठे मल नै खेतमा प्रयोग गर्छन् । यसले आम्दानी पनि बढाएको र माटो पनि मलिलो भएको उनले बताए । म्याग्दीका किसान गोठे मल खेतमा लगाएर जैविक तरकारी तथा खाद्यान्न उत्पादनतर्फ लागेका अगुवा कृषक चन्द्रबहादुर कार्कीले बताए । प्राङगारिकभन्दा रासायनिक मलले दिने नतिजा बढी भए पनि अहिले किसान गोठे मलतर्फ आकर्षित भएको कृषि प्राविधिकको भनाइ छ ।

खेतबारीमा धेरै रासायनिक मल प्रयोग गर्दा माटोको उर्वरा शक्तिमा ह्रास आउने, अम्लीयपना ज्यादा हुने जस्ता समस्या देखापर्ने कृषि विज्ञ बताउँछन् । बिस्तारै खेतबारीमा प्राङ्गारिक मलको प्रयोगले माटोको उर्बराशक्ति पनि बढ्दै गएको र बालीलाई फाइदा गरेको कृषि प्राविधिक निता शर्माले बताए । नेपालमा रासायनिक मलको प्रयोगले उर्बराशक्ति घटेको नदेखाए पनि ठाउँ–ठाउँमा माटोको गुणस्तर तथा माटोमा चाहिने पौष्टिक तत्वको कमी भएको देखाएको माटो विज्ञान अनुसन्धान केन्द्रको तथ्याङ्क छ ।
रासस