गलेश्वर। म्याग्दीमा लगाइएको खेती र फलफूलमा रोग तथा किराको प्रकोप देखिएपछि किसान चिन्तित बनेका छन् । लामो समयको खडेरीका कारण गहुँबालीमा क्षति व्यहोरेका किसान मकै बालीमा फौजी किरा र फलफूलमा औँसालगायत रोग देखिएपछि चिन्तित बनेका हुन् ।

यहाँका किसानले लगाएको फलफूलमा औँसा, केरामा खपटे, गवारो र मकैबालीमा फौजी किराको प्रकोप देखिएको स्थानीय तहका कृषि प्राविधिकले बताएका छन् । फूल फुलेर बतिला लाग्न थालेका सुन्तला, बारी भरि फलेका काँक्रा, घिरौँला, गोलभेँडालगायतमा औँसा, घोगा लाग्न थालेका मकैमा फौजी किरा र केरा खेतीमा खपटे रोगको प्रकोप देखिएपछि किसान चिन्तित बनेका कृषि प्राविधिकको भनाइ छ ।

प्रायः फल पाकेर टिप्ने बेलामा देखिने औँसा कीराको सङ्क्रमण बतिलामै देखिएपछि किसान उत्पादन घट्नेमा चिन्तित छन् । किसानले लगाएका काँक्रा र पाक्न लागेका आरु, आरुपखडामा पनि औँसा कीराको व्यापक सङ्क्रमण भेटिएको छ । मकैबालीमा अमेरिकन फौजी किरा र गोलभेँडामा सेतो ढुसीको समस्या देखिएको म्याग्दीका अगुवा कृषक चन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । कीराको सङ्क्रमणलाई प्रकोपका रुपमा फैलिन नदिन किसानलाई सचेतसमेत गराइएको कृषि प्राविधिकले बताएका छन् ।

कृषि ज्ञानकेन्द्रले सिफारिस गरेका मकैको जातका आधारमा सोहीअनुसारको उपचार विधि र विषादी किसानलाई उपलब्ध गराइएको ज्ञान केन्द्रले जनाएको छ । यसैगरी गोलभेँडामा लागेको डढुवाको समस्याले व्यावसायिक किसान मर्कामा परेको मालिका गाउँपालिका–६ उपल्लो दरबाङका कृषक सुजन पौडेलले बताउनुभयो ।

म्याग्दीमा किसानले लगाएको मकै बालीमा फौजी किराले क्षति पु¥याएको छ । जिल्लाको ज्यामरुककोट, बाबियाचौर, अर्मन, रत्नेचौरलगायत क्षेत्रका किसानले लगाएको मकै बालीमा फौजी किराको प्रकोप बढेको हो । घोगा हाल्न लागेका मकैका बोटमा फौजी किराको आक्रमण बढी भएकाले बोट नै सकिन थालेको बेनी नगरपालिका–२ का कृषक भीमबहादुर रिजालले बताउनुभयो । उहाँका अनुसार विषादीले समेत फौजी किराको आक्रमण रोकिन सकेको छैन ।

बगरफाँट, खबरा, भकिम्ली, बाबियाचौर लगायतका स्थानका किसानले लगाएका सयौँ रोपनीको मकै बालीमा फौजी किराको प्रकोप बढेको कृषि प्राविधिकले बताएका छन् । मङ्गला गाउँपालिकाका कृषि प्राविधिक जगत बानियाँले रोग र किराको प्रकोपबाट यस क्षेत्रका किसानले हैरानी व्यहोर्नुपरेको बताउनुभयो ।

फौजी किराको प्रकोप नियन्त्रण गर्न किसानलाई प्राविधिक सेवा र विषादी निःशुल्क उपलब्ध गराइँदै आएको उहाँले बताउनुभयो । यहाँका किसानले परम्परागत रुपमा लगाउँदै आएको मकै बालीमा फौजी किराको आक्रमण बढी छ । जिल्लाको ज्यामरुककोट क्षेत्रमा भने मकैका बोट उम्रन थालेदेखि नै फौजी किराको आक्रमण बढेको र बोट जोगाउनै मुस्किल परेको किसानको भनाइ छ ।

प्रायः सुक्खा मौसममा देखिने फैजी किरा पछिल्लो समय वर्षा भइरहँदा पनिफौजी किराको आक्रमण बढेको कृषि प्राविधिक बताउँछन् । फौजी किराले मकैको पातमा लाम्चा आकारका झिल्लीमात्र छाडेर मकैको पातलाई कोतरेर खानाका साथै मकैको घोगा, पात, जुँगा र गुभोमा पनि क्षति पु¥याउने कृषि प्राविधिक बताउँछन्

यसैगरी म्याग्दीमा गरिएको व्यावसायिक केरा र आलु खेतीमा रोगको प्रकोप देखिएपछि किसान चिन्तित बनेका छन् । केरामा खपटे घुन र गवाँरो रोगको प्रकोपका कारण बोट र पात सुक्ने, कोसा पोटिलो नहुने रोग देखिएको छ भने आलुमा डढुवा रोगका कारण बोट सुक्न थालेका छन् ।

जिल्लाको बेनी नगरपालिका–२ बगरफाँट, खबराका साथै मङ्गला र रघुगङ्गा गाउँपालिकाका विभिन्न क्षेत्रमा गरिएको व्यावसायिक केरा खेतीमा रोगको प्रकोप देखिएपछि किसान चिन्तित भएका छन् । त्यसैगरी डढुवा रोगका कारण आलुका बोट सुक्न थालेपछि किसानले औषधि प्रयोग गर्न थालेका छन् । कतिपय ठाउँमा औषधि प्रयोग गरे पनि रोगको प्रकोप कम नभएको बरु रातो कमिलासमेत देखिन थालेको बगरफाँटका कृषक खीमबहादुर कार्कीले बताउनुभयो ।

बगरफाँटकै कृषक वेदप्रसाद शर्माले खपटे घुनले पसाएको केरामा दाग देखिने, केराको बोट सुक्दै जाने, बोट ढल्ने र उत्पादन पनि घट्दै गएपछि पेसा सङ्कटमा परेको बताउनुभयो । यहाँको सिङ्गो गाउँका कृषक केरा खेतीमा संलग्न छन् । सुरुआतमा सामान्य देखिए पनि केही समयपछि भने खेतीमा ठूलो क्षति पु¥याएको उहाँको भनाइ छ ।

आफ्नो करिब १० रोपनी धान फल्ने खेतमा केराखेती गर्नुभएका दुर्गाबहादुर थापाले रोगको प्रकोपका कारण यस वर्ष केराको उत्पादन घटेको बताउनुभयो । हजारी जातको केरा खेतीबाट वार्षिक रु तीन लाख आम्दानी हुँदै आएकामा रोगको प्रकोपले यस वर्ष उत्पादन र आम्दानी घटेको उहाँले बताउनुभयो ।

“झ्याङ भएको केरामा कीरा र रोग लागेपछि सुरुमा पात सुक्दै जान्छ, त्यसपछि गुबो र विस्तारै बोट मर्ने गरेको छ ।” उपचारका लागि बोट वरिपरि काँटछाँट, सफाइ गर्ने र कृषि प्राविधिकको सिफारिसमा किटनाशक औषधि छर्कंदै आएको कृषक थापाले जानकारी दिनुभयो ।

रोकथाम र उपचारमा समन्वय गर्न नसक्दा क्षति पुगेको व्यावसायिक केराखेती गर्दै आउनुभएका खबराका अर्का कृषक शोभित शर्माले बताउनुभयो । “लगानी पनि उठ्न गाह्रो हुने देखियो, पसाउन सुरु गरेको केराको पात सुकेर बोट मर्न थाल्छ”, उहाँले भन्नुभयो । धान फल्ने खेतमा केराखेती गरेका यहाँका किसान धमाधम केराका बोट मर्ने र पसाएका केराका कोसा पनि पोटिला हुन नसकेपछि मारमा परेका छन् । उनीहरुले स्थानीय सरकारसँग सहुलियत र सहयोगको मागसमेत गरेका छन् ।

रासस