ललितपुर। पुष्प व्यवसायको विकास, विस्तार र प्रवर्द्धनका लागि भन्दै फ्लोरिकल्चर एशोसियशन नेपालले यही चैत १७ देखि २० गतेसम्म काठमाडौँमा ‘२४औँ फ्लोरा एक्स्पो’ आयोजना गर्ने भएको छ । एशोसियशनले आज पत्रकार सम्मेलन गर्दै भृकुटीमण्डपमा आयोजना गरिने मेलाबारे जानकारी दिएको हो ।

‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ मेला आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । मेलामा ६२ व्यावसायिक स्टल, तीन ल्यान्डेस्केपिङ स्टल, १० अफिसियल स्टल, तीन प्रतियोगितात्मक प्रदर्शनी स्टल र दुई फुड स्टल रहने जनाइएको छ ।

मेलामा मौसमी फूल, कट् फ्लावर, ड्राईफ्लावर, सुनाखरी, कम्पोस्ट मल, फूलका बीउबिजन, ग्रीन हाउस, कृषि औजार, विषादी, प्याकेजिङ सामग्रीलगायत स्टल रहनेछन् ।

पुष्प नर्सरी, आपूर्तिकर्ता कम्पनी, व्यावसायिक तथा विभिन्न सङ्घसंस्थाका साथै भारत र बङगलादेशका पुष्प व्यवसायी पनि मेलामा सहभागी हुने आयोजकको भनाइ छ । मेलामा सहभागी भएका विभिन्न पुष्प व्यवसायीद्वारा उत्पादित फूल बिरुवाबीच प्रतिस्पर्धा गराई उत्कृष्टलाई पुरस्कृत गरिने जनाइएको छ ।

पुष्पजन्य वस्तुको बजारीकरण, यस क्षेत्रसँग सम्बन्धित नयाँ ज्ञान तथा सीप, बजारको अवस्थालगायतका विषयमा जानकारी लिनका लागि यो मेला उपयुक्त अवसर रहेको एशोसियशनले जनाएको छ ।