चितवन। चाडपर्वसँगै अण्डाको माग बढेपछि समर्थन होलसेल मूल्य वृद्धि भएको छ । चाडपर्व र जाडोयाम सुरु भएसँगै बजारमा माग बढेपछि नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको समर्थन मूल्य बढाएको हो ।
यसअघि ६ कात्तिकमा काठमाडौँमा बसेको बैठकले तय गरेको मूल्यलाई छ दिनपछि नै परिमार्जन गर्दै सङ्घले बिहीबार पोखरामा बसेको बैठकबाट अण्डाको नयाँ समर्थन मूल्य तोकेको सङ्घका अध्यक्ष विनोद पोखरेलले बताए । नयाँ समर्थन मूल्यअनुसार एक्सएल, ठूलो र मिडियम अन्डाको मूल्य प्रतिपेटी (कार्टुन) रु. दुई सय बढेको छ भने सानो अण्डाको मूल्य प्रतिपेटी रु एक सय वृद्धि भएको छ ।
कात्तिकमा रु. तीन हजार ७०० रहेको १४.५ देखि १४.८ किलोको एक्सएल अण्डाको समर्थन मूल्य अब रु. तीन हजार ९०० पुगेको छ । १३.५ देखि १३.८ किलोको ठूलो अण्डाको समर्थन मूल्य रु. तीन हजार ६०० बाट बढेर रु. तीन हजार ८०० पुगेको छ । १२.५ देखि १२.८ किलोको मिडियम अण्डाको समर्थन मूल्य रु. तीन हजार ५०० बाट बढेर रु तीन हजार ७०० पुगेको अध्यक्ष पोखरेलले जानकारी दिए ।
एघार किलोभन्दा माथिको सानो अण्डाको समर्थन मूल्य भने रु. तीन हजार १०० बाट बढेर रु. तीन हजार २०० पुगेको छ । उपभोक्ता मूल्य ठूलो अण्डा प्रतिगोटा रु. २५ र मिडियम अण्डाप्रति दुई वटाको रु. ४५ कायम गरिएको छ ।
फार्म मूल्य प्रतिपेटी रु. २०० बढे पनि उपभोक्ताले तिर्ने खुद्रा मूल्यमा भने कुनै परिवर्तन नगरेको संघले जनाएको छ ।









