अर्घाखाँची। अर्घाखाँचीको शितगङ्गा नगरपालिका–३ खसर्काका महिला जनजागृती महिला कफी किसान समूह बनाएर व्यावसायिक कफी खेतीमा लागेका छन् । माग बढेपछि उनीहरु २० जनाको समूह बनाएर कफी खेतीमा लागेका हुन् ।

कफी खेतीबाट पर्याप्त आम्दानी हुने गरेको ‘कफी महिला समूह’की अध्यक्ष मीना भुसालले बताउनुभयो । मकैखेती र गँहुखेती गर्ने बारीमा अहिले खसर्काका महिलाले बारीभरी कफी लगाएको स्थानीय दुर्पता न्यौपानेले बताउनुभयो । अरु खेतीमा भन्दा कफीबाट मनग्य आम्दानी लिन सकिने भएपछि कफी खेतीमा लागेको उहाँको भनाइ छ ।

शीतगङ्गा–३ ठाडाका मित्रलाल बेल्वासेले दुई सय रोपनीमा १० हजारभन्दा बढी कफीका बिरुवा लगाउनु भएको छ । भारतमा रोजगारी गर्दै आउनुभएका उहाँ गाउँ फर्किएर ठाडा र जुकेनामा जग्गा किनर कफी खेतीमा लाग्नुभएको हो । अब थप पाँच हजार कफीका बिरुवा लगाउने उहाँको योजना छ ।

अर्घाखाँचीमा उत्पादन भएको अर्गानिक र पार्चमेन्ट कफी कोरिया, अमेरिका र जापानमा निर्यात हँुदै आएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख रामनाथ पाण्डेले बताउनुभयो । आठ सय मिटरदेखि एक हजार ६०० मिटर सम्मको उचाइमा उत्पादन भएको कफी स्वादिलो मानिन्छ । “यहाँको कफीको विदेशमा माग बढेको छ”, पाण्डेले भन्नुभयो ।

अर्गानिक कफी उत्पादन गर्ने किसानलाई लक्षित गरी प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजनाले ५० प्रतिशत र ८५ प्रतिशत अनुदानका कार्यक्रम सञ्चालन गरेको छ । किसानलाई बिरुवा अनुदान, नर्सरी व्यवस्थापन, सिँचाइ टङ्कीलगाय कार्य तथा प्राविधिकरुपमा परियोजनाले सहयोग गर्दै आएको छ ।
रासस