चितवन। जिल्लाका दुई वडामा खोरेत रोग मुक्त अभियानको तयारी गरिएको छ । भरतपुर महानगरपालिका–६ र रत्ननगर नगरपालिका–१२ मा सो अभियान सञ्चालन गर्न लागिएको हो ।

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र भरतपुरले दुई वडालाई खोरेत रोग मुक्त अभियान सञ्चालनको लागि काम सुरु गरेको हो । कार्यालयका सूचना अधिकारी डा प्रभात न्यौपानेका अनुसार दुई पालिकाका दुई वडामा कार्यक्रम सञ्चालनका लागि रु. २० लाख बजेट विनियोजन गरिएको छ । दुई वडामा १० हजार मात्रा खोरेतविरुद्धको खोप लगाउने तयारी गरिएको छ । यसका लागि अध्ययनको काम सकिएको उहाँले बताउनुभयो । गाई, भैँसी, बङ्गुर, बाख्रा र भेडामा यो रोग देखिने गरेको उहाँले बताउनुभयो । यीमध्ये गाई भैँसीमा बढी सङ्ख्यामा खोरेतको समस्या देखिने गरेको छ ।

ती वडामा रहेका पशु चौपायाको अवस्थाको अध्ययन सकेर खोप अभियान सुरु गर्ने चरणमा रहेको उहाँले जानकारी दिनुभयो । खोप अभियानका क्रममा वर्षमा दुई पटक खोरेतको खोप पशु चौपायमा लगाइने छ । नेपाल सरकारको सन् २०३० सम्म खोरेत न्यूनिकरण गर्ने लक्ष्यलाई सफल बनाउनका लागि यो अभियान सञ्चालन गरिएको हो । अभियानसँगै यस वर्ष जिल्लामा एक लाख १० हजार खोरेत रोगविरुद्धको खोप पशुचौपायमा लगाइने छ । गत आर्थिक वर्षमा समेत सोही सङ्ख्यामा खोप लगाइएको कार्यालयले जनाएको छ ।

खोरेत रोग लाग्दा पशु चौपायामा १०४ देखि १०६ डिग्रीसम्मको ज्वरो आउने, घासपात नखाने, झोक्राउने, गिजा र जिब्रोमा स–साना फोका आउने, खुट्टाको खुरको कापमा समेत फोका आउने, मुख वरिपरि घाउ आउने भएकाले ¥याल चुहिने, ब्याउने माउ गर्भ तुहिने समस्या देखिने, दूध दिइरहेको चौपायामा थुनेलोको समस्या देखिनेजस्ता लक्ष्यण देखा पर्ने उहाँले बताउनुभयो । रोग लागेमा मुखको घाउमा पोटास पानीले सफा गरिदिने वा फिटकिरी पानीले सफा गर्ने, खुरका घाउलाई पोटास पानीले धोएर औषधि प्रयोग गर्न उहाँ सुझाउनुभयो । निलोतुथोले घाउ सफा गर्ने, घाउमा अन्य जीवाणु प्रवेश गरी सङ्क्रमण नगरुन भन्नका लागि एन्टीबायोटिक सुई लगाउने, खोरेत देखिइरहने ठाउँमा रोकथामको लागि खोरेतविरुद्धको खोप लगाउने गर्नुपर्ने न्यौपानेले बताउनुभयो ।

नेपालमा पहिलो पटक नमूनाको रुपमा यो अभियान गर्न लागिएको हो । खोरेतका कारण बर्सेनि पशुचौपायामा समस्या देखा पर्दा कृषकले नोक्सानी बेहोर्दै आएका छन् ।
रासस