अदुवा एक वर्षीय नगदे तथा मसला बाली हो । यो बाली ७ देखि ९ महिनामा तयार हुन्छ । यसको गानो माटोमुनी रहन्छ । यसको गानो लाई मसलाको रूपमा तरकारी, अचार आदिमा स्वाद बढाउने प्रयोजनका लागि प्रयोग गरिन्छ । अदुवाले मानव शरीरमा रोग प्रतिरक्षात्मक क्षमता वृद्धि गराइ शरीर स्वस्थ बनाउन मद्दत गर्दछ । अदुवा दम, खोकी, रुघा, सर्दी जस्ता रोगहरुमा औषधिका रूपमा प्रयोग गरिन्छ । यसको जमिन मुनिको डाँठलाई स्वादको लागि दाल, तरकारी, चिया वा अचारका परिकारमा मिसाएर खाने गरिन्छ ।

हावापानी :

अदुवाको लागि न्यानो र ओसिलो हावापानी चाहिन्छ । बाली अवधिमा १५०० – २००० मि .मि. वर्षा र २०–३० डि.से. तापक्रममा राम्रो सप्रिने र तापक्रम ३५ डि. से. भन्दा बढी भएमा बिरुवा घामले डढ्ने र वेस तापक्रम १३ डि.से. भन्दा कम हुँदा सुषुप्त अवस्थामा गई बढ्न नसक्ने हुँन्छ ।

माटो :

प्रशस्त प्रांगारिक पदार्थ भएको मलिलो, पानीको निकासको व्यवस्था राम्रो भएको, राम्रोसंग हावा खेल्न सक्ने दुमट माटो अदुवा खेतीको लागि सबैभन्दा उपयुक्त मानिन्छ । तठस्थ भएको माटोमा खेती राम्रो हुन्छ ।

जात :

सल्याने, इलामे, भोजपुरे, कपुरकोट अदुवा–१, सुभ्प्रभा, सुरुची, सुरभी, हिमगिरी, कालकिट, कोचिन, रियो डि जेनेरियो, जमैका आदि स्थान विशेषका नामले प्रचलित छन् ।

जमिनको तयारी :

अदुवा खेतीको लागि १५ – २० से. मि. को गहिराईमा जमिनलाई दुई पटक खनजोत गरी, डल्लालाई धुलो बनाई, झारपात हटाएर भिरालो जग्गा भएमा माटो नबग्ने गरेर तेर्सो ड्याङ्गहरु बनाई आवश्यकता अनुसारको कम्पोष्ट मललाई जोत्नुपूर्व राखेर जग्गा तयार गर्नुपर्दछ र पानी नजम्ने व्यवस्था मिलाउनुपर्छ ।

बीउदर :

अदुवाको ५० – ६० ग्राम वजनको बिउ २५० किलो प्रति रोपनीको दरले प्रयोग गर्नुपर्दछ ।

बीउ गानोको छनोट :

अदुवाको बिउ गानो छनोट गर्दा निम्न कुराको बिशेष ध्यान दिनु पर्दछ :

बीउको श्रोत गानो कुहिने रोग नलागेको खेतको हुनुपर्ने ।

रोग तथा कीरा नलागेको स्वस्थ गानो हुनुपर्ने ।

कम्तिमा एउटा टुसा निश्चित रुपमा निक्लन सक्ने पोटिलो गानो हुनुपर्ने ।

गानोको आकार हेरी बिउ गानो ४० ग्राम देखि ६० ग्रामसम्मको हुनुपर्ने ।

बीउ उपचार :

गानो कुहिने रोगबाट बचाउन १० लिटर पानीमा २५ ग्राम इन्डोफिल एम – ४५ (मान्कोजेब) र १० ग्राम बेबिस्टीन (कार्बान्डाजिम) मिसाई बनाएको घोलमा बिउ गानोहरुलाई एक घन्टासम्म डुबाउने, त्यसपछि छायाँमा सुकाउने र ओभाएपछि मात्र रोप्ने काम गर्नु पर्छ ।

लगाउने समय :

फाल्गुन – चैत्र महिनाभित्र अदुवा लगाउन उपयुक्त समय मानिएको छ ।

 

लगाउने तरिका :

अदुवा लगाउँंदा एक हारदेखि अर्को हारको दुरी ३० से.मि. कायम गरी एक बोटबाट अर्को बोट ३० से.मि. टाढा राखी ७ – १० से.मि. गहिरो कुलेसोमा बिउ गानो रोप्नुपर्छ । अदुवा रोपेपछि टुसाएर जमिनको सतहमा आउन १ देखि ३ महिनासम्म लाग्नसक्छ । माटाको चिस्यान बचाई राख्न छार्पाको नितान्त आवश्यक पर्छ ।

मलखाँद, गोडमेल :

पहिलो पल्टको गोडमेल अदुवा उम्रेको एक महिनापछि र दोश्रो पल्टको गोडमेल अदुवा उम्रेको दुई महिनापछि गानोलाई असर नगर्ने गरी गर्नुपर्छ ।

सिंचाई :

जमिन सुख्खा हुन गएमा चिस्यान हेरी आवश्यकता अनुशर १५ दिनको फरकमा स्प्रिन्ग्क्लर बाट सिचाई दिनुपर्छ । अदुवाले पानी जमेको सहन नसक्ने हुँदा पानी निकासको उपयुक्त व्यवस्था मिलाउनु पर्दछ ।

अदुवाको माउ- बु्रनी निकाल्ने प्रविधि :

रोपेको ४ महिना पछि साउन भदौतिर रोपेको बिउ गानो (ब्रुनी) निकाल्दा बिरुवालाई पनि असर पर्दैन र अन्तिम उत्पादन पनि घट्दैन । स्वस्थ बीउ गानो रोपिएको छ भने लगभग ९० प्रतिशतसम्म माउ (ब्रुनी) फिर्ता निकाल्न सकिन्छ ।

बालीचक्र :

प्रत्येक तीन वर्षमा एकपटक मात्र अदुवा लगाउनु पर्दछ ।

अदुवामा लाग्ने रोग र किराहरु :

रोग :

अदुवा उत्पादनको प्रमुख समस्याका रुपमा रहेको गानो कुहिने- सुके सडन रोगको अतिरिक्त थोप्लेरोग, भण्डारण सडन आदि प्रमुख रुपमा लाग्ने गरेको पाइन्छ ।

रोग व्यवस्थापन प्रविधि :

रोगरहित स्थानमा उत्पादन भएको स्वस्थ बीउलाई भण्डारण गर्नु अघि डाईथेन एम–४५ ९०.२५५० ले र रोप्नुअघि डाईथेन एम–४५ ९०.२५५० र बेविस्टीन ९०.१५० ले बिउ उपचार गरी प्रयोग गर्ने ।

तीन वर्ष बिराएर मात्र अदुवा लगाउने र अदुवा लगाउनु भन्दा अघिल्लो वर्ष कोदो वा घिउसिमी लगाउने ।

पानी नजम्ने ठाउँको छनौट गर्नुको साथै निकासको उचित व्यवस्था गर्नुपर्ने ।

अदुवा लगाउँदा १०० के.जी. प्रति रोपनी निम वा तोरीको पिना र २.५ – ३ के.जी. टिमुरको धुलोको प्रयोग गर्नुको साथै रोग सहने सक्ने जति जस्तै कपुरकोट अदुवा–१ लगाउनु पर्ने ।

किराहरु :

अदुवामा मुख्य गरी खुम्रे किरा, रातो कमिला, गाने औसा लगायतका किराहरुले आर्थिक दृष्टिकोणले केही हदसम्म क्षति पु¥याएको पाइन्छ । साथै किराको सम्बन्ध गानो कुहिने रोगसँग पनि हुने हुँदा अदुवा लगाउँदा प्रति रोपनी ३ के.जी. का दरले क्लोरोपाइरिफस धुलो प्रयोग गर्दा राम्रो नतिजा पाइन्छ ।

बाली भित्रयाउने स् अदुवाको लगभग ७५५ सरा सुकेर ढल्न थालेपछि खन्न तयार हुने भएतापनि बजार भाउ राम्रो भएमा, हिउँदे बाली लगाउनु पर्दा वा क्यान्डी बनाउने प्रयोजनका लागि ६ महिनामा र सुठो तथा बीउ बनाउने प्रयोजनको लागि ८ – ८.५ महिनामा आधा सरा नढल्दै खन्नुपर्छ ।

उत्पादन :

नेपालमा अदुवाको अधिकतम उत्पादन क्षमता ४० मे. टन प्रति हेक्टरसम्म पाइएको भएतापनि औसत राष्ट्रिय उत्पादकत्व ११.६८ मे. टन प्रति हेक्टर छ ।

अदुवा भण्डारण :

अदुवालाई खनी सकेपछि भण्डारण गर्दा सुक्ने, चाउरिने र टुसा आई गुणस्तर घट्ने तथा कुहिएर नोक्सान हुने हुँदा सुरक्षित भण्डारणका लागि सावधानी अपनाउनु पर्दछ । यसलाई १२ – १४ डि.से. तापक्रम र ६५ – ७०५ सापेक्षिक आद्रता भएको वातावरणमा ५- ६ महिनासम्म सुरक्षित भण्डारण गर्न सकिन्छ ।

स्रोत : कृषि व्यवस्थापन सूचना प्रणाली

फोटो : नेपाल जिन्नर डट कमबाट