ललितपुर। एक साता देखि आन्दोलन गर्दै आएका कृषि तथा भेटेरनरी प्राविधिक र सरकरबीच ६ बुँदे सहमती भएको छ । मंगलबार भएको वार्तामा पशु, कृषि प्राविधिक र कृषि तथा पशुपंक्षि विकास मन्त्रालयको वार्ता टोलीबीच भएको छलफल पछि ६ बुँदे सहमति भएको हो ।

कृषि तथा पशुपंक्षि मन्त्री चक्रपाणी खनालको विशेष पहलमा सोमबार सुरु भएको वार्ता मंगलबार टुंगिएको हो ।

सहमतिमा तत्कालका लागि खारेज गरिएको पशु, कृषि प्राविधिक पद पुनस्थापना गर्न सिफारिस गर्ने, रोकिएको तलब भत्ता तत्कालै उपलब्ध गराउने र उनीहरुको म्याद आगामी असार मसान्तसम्म थप गर्न नेपाल सरकार र आन्दोलनरत पक्ष दुवैले सहमति जनाएका छन् ।

सहमति पत्रमा एक गाउँ एक प्राविधिक व्यवस्था गर्न मन्त्रालयले विगतको समीक्षा सहित प्रतिवेदन तयार गरी अर्थमन्त्रालय तथा सामान्य प्रशासन मन्त्रालयमा सिफारिस गर्ने सहमति पत्रमा उल्लेख छ ।

वार्तामा आन्दोलनकारीको तर्फबाट मन बहादुर रावल, पाराभेटनरी लाईभस्टकका रामप्रसाद महतो, कृषि प्राविधिक एशोसिएशनका देवराज गौली र सरकारी वार्ता टोलीको तर्फबाट कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव रघुराम बिष्ट, बरिष्ठ पशु चिकित्सक डा. बरुण कुमार शर्मा, बरिष्ठ कृष अर्थ विज्ञ लाल कुमार श्रेष्ठ, बाली संरक्षण अधिकृत सुरेन्द्र सुवेदी, मन्त्रालयकै शाखा अधिकृत नवराज गौतम, पशुविकास अधिकृत अर्जुन पौडेलको सहभागिता थियो ।