ललितपुर।  कृषि यान्त्रिकीकरण तथा आधुनिक कृषि प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्यले आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी-२०८३ हुने भएको छ ।

नेपाल कृषि मेशिनरी व्यवसायी संघका अनुसार आगामी मंसिर ४ देखि ६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी आयोजना हुन लागेको हो ।

‘कृषिमा यन्त्र र प्रविधिः कृषक र राष्ट्रको समृद्धि’ मूल नारासहित आयोजना हुने तीनदिने प्रदर्शनीमा करिब ७० प्रदर्शकको सहभागिता रहनेछ भने १५० भन्दा बढी स्टलमार्फत २० देशका दुई हजारभन्दा बढी प्रकारका कृषि औजार, उपकरण, यन्त्र तथा प्रविधि प्रदर्शन गरिने आयोजकले जनाएको छ। आयोजकका अनुसार प्रदर्शनीमा प्रवेश निःशुल्क रहनेछ ।

प्रदर्शनीमा स्वदेशी कृषि यन्त्र, उपकरण तथा प्रविधि उत्पादकलाई प्रोत्साहन गर्ने उद्देश्यले करिब ३० वटा स्टल स्वदेशी उत्पादक कम्पनी तथा संस्थालाई निःशुल्क उपलब्ध गराइएको छ।

त्यस्तै, ‘मेक इन नेपाल’ तथा ‘मेड इन नेपाल’ कम्पनीलाई स्टलमा ६० प्रतिशत छुट, नेपाल कृषि मेशिनरी व्यवसायी संघका सदस्यलाई ५० प्रतिशत र अन्य नेपाली कम्पनीलाई २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ।

प्रदर्शनीमा आधुनिक कृषि, पशुपन्छीपालन, मत्स्यपालन, पुष्पखेती, व्यावसायिक तरकारीखेती, सिँचाइ, पोस्ट हार्भेस्ट, प्रशोधन तथा बजारीकरणसम्बन्धी आधुनिक यन्त्र, उपकरण र प्रविधिका सामग्री प्रदर्शन गरिने जनाएको छ।

साथै, बीउबिजन तथा कृषि र पशुपन्छीसम्बन्धी सेवाका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका प्रतिष्ठित उत्पादक तथा विक्रेताको सहभागिता रहनेछ।

प्रदर्शनीको मुख्य प्रायोजकका रूपमा एसकेटी नेपाल प्रा. लि. रहेको छ ।

नेपालको कृषि तथा पशुपन्छीपालन क्षेत्रलाई यान्त्रिकीकरण, औद्योगिकीकरण, आधुनिकीकरण तथा व्यावसायिकीकरण गर्न टेवा पुर्याउने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको हो।

आयोजकका अनुसार एउटै स्थानमा विभिन्न आधुनिक कृषि, पशुपन्छीपालन, मत्स्यपालन, सिँचाइ, कोल्ड स्टोर, पोस्ट हार्भेस्ट तथा प्रशोधनका यन्त्र र उपकरण, तरकारीखेती, पुष्पखेती, नर्सरीसम्बन्धी प्रविधि एवं बीउबिजनका साथै कृषि तथा पशुपन्छीसम्बन्धी सेवाबारे जानकारी उपलब्ध गराउनु प्रदर्शनीको प्रमुख उद्देश्य रहेको छ।

प्रदर्शनीमार्फत उपभोक्ता तथा नीतिनिर्मातालाई कृषि यान्त्रिकीकरणसम्बन्धी नवीनतम प्रविधिबारे जानकारी गराउने, कृषि यन्त्र तथा उपकरणको प्रचारप्रसारमा वृद्धि गरी कृषि यान्त्रिकीकरण प्रवर्द्धनमा सहयोग पुर्याउने लक्ष्य राखिएको छ।

साथै, कृषि यान्त्रीकरण प्रविधि तथा सेवाको आन्तरिक बजार प्रवर्द्धनमा योगदान पुर्याउने र कृषि यान्त्रीकरण व्यवसायी तथा उपभोक्ताबीच समन्वय गर्ने उद्देश्य पनि प्रदर्शनीले लिएको छ।

व्यावसायिक कृषि प्रणालीसम्बन्धी चेतना अभिवृद्धि गर्नुका साथै लगानीका अवसर सिर्जना गर्ने र कृषि यन्त्र तथा प्रविधिसम्बन्धी विभिन्न क्षेत्रमा काम गरिरहेका उत्पादक, आयातकर्ता, वितरक, सेवा प्रदायक, नीतिनिर्माता, कृषि विज्ञ र कृषकबीच समन्वय तथा सहकार्यको वातावरण सिर्जना गर्नसमेत प्रदर्शनीले सहयोग पुर्याउने अपेक्षा गरिएको छ।

कृषि यान्त्रिकीकरणसम्बन्धी विषयमा स्वदेशी तथा विदेशी विज्ञबाट प्रस्तुतिका कार्यक्रम रहेको छ भने यस मेला अवधिमा कृषि यान्त्रिकीकरणसम्बन्धी प्यानल छलफल तथा नीतिगत संवादका कार्यक्रम चल्नेछन् ।