चितवन। चीनको प्राविधिक सहयोगमा चितवनस्थित कृषि तथा वनविज्ञान विश्वविद्यालय (एएफयू) अन्तर्गत सञ्चालित दक्षिणी कृषि विज्ञान तथा प्रविधि पार्कमा गरिएको हाइब्रिड धानको परीक्षण खेतीबाट प्रतिहेक्टर ६ दशमलब ८ सय ६० मेट्रिक टन धान उत्पादन भएको छ । यसअघि सोही क्षेत्रफलमा प्रतिहेक्टर ३ दशमलब ८ मेट्रिक टन मात्रै धान उत्पादन हुँदै आएको थियो । यसरी परीक्षण खेतीबाट प्राप्त उत्पादन अघिल्लो उत्पादनको तुलनामा करिब ८० प्रतिशत बढी हो । यसले उन्नत बीउ, वैज्ञानिक खेती प्रणाली र आधुनिक कृषि प्रविधिको संयोजनबाट धान उत्पादनमा उल्लेख्य सुधार गर्न सकिने सम्भावना उजागर गरेको छ । चोङ्छिङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सेसका धान विज्ञ वाङ छ्यानका अनुसार नेपाली र चिनियाँ कृषि विज्ञको संयुक्त अनुसन्धान, प्राविधिक सहयोग र निरन्तरको मेहनतबाट उक्त उत्पादन हासिल भएको हो ।
परीक्षणका क्रममा स्थानीय कृषि अवस्था र प्रविधिको उपयुक्ततामाथि काम गरिएको थियो । कृषि तथा वनविज्ञान विश्वविद्यालयका उपकुलपति प्राध्यापक ऋषिराम कट्टेलले ८ सय दिनभन्दा बढी समयको अनुसन्धान र परीक्षणपछि प्राप्त नतिजाले नेपालको कृषि अनुसन्धान तथा धान उत्पादन वृद्धि गर्ने सम्भावना देखाएको बताएका छन् ।
हाइब्रिड धानको बीउ हरेक वर्ष किन्नु पर्ने अवस्था हुन सक्ने भएकाले किसानहरुलाई यसको मूल्य, उपलब्धता र आर्थिक लाभबारे स्पष्ट जानकारी दिनुपर्छ, साथै परम्परागत वा अन्य उन्नत जातको तुलनामा यसको उत्पादन लागत कति पर्छ र अन्ततः किसानहरुको नाफा कति बढ्छ भन्ने विषय पनि महत्त्वपूर्ण हुने उनी बताउछन् । यसका साथै धानखेतीमा रासायनिक मलको प्रयोग, पानीको उपलब्धता, माटोको स्वास्थ्य र वातावरणीय सन्तुलनलाई पनि ध्यान दिनुपर्ने र उत्पादन बढाउने नाममा दीर्घकालीन कृषि प्रणाली कमजोर बन्न नहुने कट्टेलको भनाइ छ । कट्टेलका अनुसार अन्तर्राष्ट्रिय कृषि अनुसन्धान संस्थासँगको सहकार्यले विश्वविद्यालयको अनुसन्धान क्षमता विस्तार गर्नुका साथै नयाँ प्रविधि र ज्ञान हस्तान्तरणमा सहयोग पुर्याउन सक्छ ।
कृषि क्षेत्रमा यस्ता अनुसन्धानलाई प्रयोगशालामा मात्र सीमित नराखी किसानको खेतबारीसम्म पुर्याउन सके त्यसको प्रत्यक्ष लाभ उत्पादन र किसानहरुको आम्दानीमा देखिन सक्छ । कृषि उत्पादनका दृष्टिले महत्त्वपूर्ण जिल्ला मानिने चितवनमा भएको यो परीक्षणले जिल्लाको कृषि अनुसन्धान र व्यावसायिक खेतीका लागि नयाँ सम्भावनाको ढोका खोलेको र धान, तरकारी र पशुपालनमा आधुनिक प्रविधिको प्रयोग विस्तार गर्न सकिए चितवनलाई कृषि अनुसन्धान, उत्पादन र प्रविधि हस्तान्तरणको महत्त्वपूर्ण केन्द्रका रुपमा विकास गर्न सकिने आधार तयार हुने कट्टेलको भनाइ छ ।
प्रतिहेक्टर ३ दशमलब ८ मेट्रिक टनबाट ६ दशमलब ८ सय ६० मेट्रिक टनसम्मको उत्पादन हासिल हुनु उत्साहजनक नतिजा हो । यसले कृषि उत्पादन वृद्धिमा प्रविधि र अनुसन्धानको भूमिका कति महत्त्वपूर्ण हुन सक्छ भन्ने देखाएको छ । चिनियाँ प्रतिनिधिमण्डलका नेता तानपिङले हाइब्रिड धानको सफल परीक्षणलाई नेपाल-चीन कृषि प्रविधि सहकार्यको महत्त्वपूर्ण उपलब्धिका रुपमा उल्लेख गरेका छन् । कृषि क्षेत्रमा दुवै देशबीचको अनुभव आदानप्रदान र प्राविधिक सहकार्यलाई थप विस्तार गर्न सकिने कट्टेलको भनाइ छ ।
सन् २०२३ सालमा सुरू भएको चोङ्छिङको सहयोगमा सञ्चालित दक्षिणी कृषि विज्ञान तथा प्रविधि पार्क परियोजनाले धानखेतीमा मात्र नभई नेपालको कृषि क्षेत्रका अन्य सम्भावनामा समेत काम गरिरहेको छ । परियोजनाअन्तर्गत नेपालमा धानखेती, भैँसीपालन र तरकारी उत्पादनका ३ वटा प्रविधि प्रदर्शन केन्द्र सञ्चालनमा छन् । यी केन्द्रमार्फत आधुनिक कृषि प्रविधि, उत्पादन प्रणाली र अनुसन्धानका नतिजालाई व्यवहारमा उतार्ने प्रयास भइरहेको छ ।








