काठमाडौं। नर्सरी व्यवसायी संघ नेपालले कार्तिक १७ गतेदेखि २१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको ‘चौथो तिहार फ्लोरा एक्स्पो २०८३’ शनिबार सम्पन्न भएको छ ।
उक्त एक्स्पोमा १ करोडको कारोबारसँगै ३५ हजार बढीले अवलोकन गरेको मेला संयोजक तथा संघको उपाध्यक्ष लक्ष्मी महर्जनले जानकारी दिइन् । एक्स्पोमा अपेक्षा गरे अनुसार अवलोकन गरिएकाले नर्सरी व्यवसायीहरूमा थप उत्साह थपिएको संयोजक महर्जनले बताइन् ।
यस्तै, संघका अध्यक्ष रामजी प्रसाद तिमिल्सिनाले प्रत्येक वर्ष कम्तीमा २ पटक राजधानीमा र अन्य प्रदेशमा समेत यस्ता प्रदर्शनी आयोजना गर्दै जाने र नेपालको भूगोल अनुसार पुष्प, फलफूल, जडिबुटी तथा कृषिजन्य नर्सरीको उत्पादनमा आत्मनिर्भर गराई परनिर्भरता हटाउन र स्वरोजगार सृजना गर्न यस व्यवसायले टेवा पुर्याउने विचार राख्दै सोको पहलका लागि निरन्तर प्रयासमा रहेको प्रतिबद्धता व्यक्त गरेँ ।
एक्स्पोमा ६३ वटा व्यवसायिक स्टललगायत वनस्पति विभाग, पुष्प विकास केन्द्रसहितको अफिसियल ६ वटा स्टल तथा प्रतिस्पर्धाको ४ वटा स्टल समेत गरी जम्मा ७३ वटा स्टल रहेको थियो । एक्स्पोमा विभिन्न प्रजातिका फूल फुल्ने तथा नफुल्ने आलंकारिक फूल बिरुवाहरूलगायत कृषि तथा वन, जडिबुटी नर्सरी, फलफूल नर्सरीबाट उत्पादित विभिन्न प्रजातिका बोट बिरुवाहरू प्रदर्शनी तथा बिक्री र वितरणको लागि राखिएको थियो ।
नर्सरी व्यवसायी संघले तिहार लक्षित ‘तिहार फ्लोरा एक्स्पो’ र चैतमा ‘नेशनल हर्टिकल्चर एक्स्पो’ गरी वर्षमा २ वटा मेला नेपाली उत्पादन प्रवर्द्धनका लागि गर्दै आएको छ ।








