ललितपुर। तिहार तथा छठ पर्वको अवसरमा नेपाली उत्पादन, स्वदेशी उद्यम र स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तिहार विशेष रैथाने मेला आयोजना गर्ने भएको छ । मेला २१–२३ कात्तिक सञ्चालन हुने कम्पनीले जनाएको छ ।

काठमाडौंको थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको कार्यालय परिसरमा आयोजना हुने मेलामा दीपावली तथा छठलगायतका चाडपर्वमा प्रयोग हुने परम्परागत खाद्य तथा सांस्कृतिक सामग्री, स्थानीय उत्पादन, कृषि उपज, हस्तकला र स्वदेशी उत्पादनको प्रदर्शनी तथा बिक्री वितरण गरिनेछ ।

मेलामार्फत स्थानीय उत्पादनलाई बजारसँग जोड्ने, नेपाली उद्यमी तथा उत्पादकलाई प्रोत्साहन गर्ने र स्वदेशी वस्तुको उपभोग बढाउने लक्ष्य राखिएको छ ।

कम्पनीले ‘स्थानीय उत्पादन किनौँ, नेपाली उद्यमलाई चिनौँ र स्वदेशी अर्थतन्त्रलाई बलियो बनाऔँ’ भन्ने सन्देशसहित सम्पूर्ण उपभोक्ता तथा सर्वसाधारणलाई मेलामा सहभागी हुन हार्दिक निमन्त्रणा गरेको छ ।