धनुषा। दुधमति – १, धनुसाका रामशोभित मुखिया ३० वर्ष अघिसम्म बाँसको घरमा बस्थे । अहिले उन्ले पक्की दुई तल्ले घर बनाएका छन् । त्यो सव कमाल सम्भव भएको हो मुखियाले शुरु गरेको २५ रुपैंयाको माछा व्यापारले ।

माछाकै कमाइबाट उनी आफू चढनका लागि चारपांग्रे गाडी खरिद गरेका छन् । जनकपुरको माछा स्वादिलो हुने भएकोले बजारमा माग उच्च रहेको उन्को भनाई छ ।  नगरपालिकाको महेन्द्रनगर दुधमति, सखुवा, मंगलपुर, सपही, पकरीमा निजी र लिजमा जग्गा लिएर करिब ८० बिघा क्षेत्रफलमा माछाको व्यावसायिक उत्पादन गरिरहेका मुखिया निरन्तरको मेहनतले यो सव सम्भव भएको बताउँछन् । यी पोखरीबाट उत्पादन हुने माछाको कारोबारनै वर्षको एक करोड रुपैयाँ भन्दा माथि रहेको मुखियाको भनाई छ ।

२०५४ मा खोलिएको काजल मत्स्य प्रजनन फार्मबाट हयाचरी किन्नका लागि धनुषा, महोत्तरी, सर्लाही, सिन्धुली र सिरहा लगाएतका व्यवसायी आउँने गरेको उन्को भनाई छ । ८ बिघा क्षेत्रफलमा १० नर्सरी पोखरी, माउ माछाका लागि ४ बिघामा ४ पोखरी र ३५ वटा आफ्नै पोखरी रहेका मुखियाले बिघाको ७५ हजार प्रतिवर्षका दरले १० वर्षका लागि ठेक्कामा लिएका जग्गामा ८० भन्दा बढी पोखरीमा माछाको उत्पादन गर्दै आएका छन् ।

साइकलमा माछा व्यापार थालेका मुखियाले ३० वर्षको अन्तरमा मनग्ये आम्दानी भएको स्वीर्काछन् । उन्को फार्ममा अहिले १५ जना कर्मचारी र मजदुर काम गर्छन् । पढाइको मामिलामा हस्ताक्षर मात्र गर्न सक्ने मुखियाले तीन छोरी र एक छोरालाई भने राम्रो शिक्षा दिएका छन् ।

हाल उन्ले ह्याचरीमा कमन कार्प, ग्रास कार्प, सिल्भर कार्प, बिग हेड कार्प, भाकुर, रउ, नइनी र तिलापिया प्रजातिका माछा पालेका छन् ।

धनुषा जिल्लालाई माछापालनको सुपरजोन घोषणा :
कृषि मन्त्रालयले धनुषा जिल्लालाई माछापालनको सुपरजोन घोषणा गरेको छ । धनुषामा ९ सय ८३ हेक्टरमा २ हजार १ सय १ जना किसानले गत आर्थिक वर्षमा ४ हजार १ सय २६ मेट्रिक टन माछा उत्पादन गरेको जिल्ला कृषि विकास कार्यालय धनुषाले जनाएको छ ।

जिल्ला कृषि कार्यालयको तथ्यांकअनुसार धनुषामा पछिल्लो तीन वर्षमा वर्षेनी १ हजार मेट्रिक टन माछा उत्पादन भैरहेको छ ।एकै ठाउँमा कम्तीमा १० हेक्टर जग्गामा एकै प्रकारको कृषि उत्पादन सुरु गरेर पकेट क्षेत्र, एक सय हेक्टरमा ब्लक, पाँच सय हेक्टरमा जोन तथा एक हजार हेक्टरभन्दा बढी क्षेत्रफललाई सुपरजोन घोषणा गरिन्छ ।

सुपरजोन घोषणा भएसँगै धनुषामा माछापालनको विशिष्टिकृत प्रणाली अबलम्बन गर्ने, उन्नत प्रविधिको प्रयोगमा बढोत्तरी ल्याउने, अन्तर्रा्ष्ट्रिय बजारमा पहुँच बढाउने किसानको सङ्ख्या बढ्दै गएको छ ।