ललितपुर। नेपाल कृषि अनुसन्धान परिषद् (NARC) र बिग एग्रो ग्रुप लिमिटेड, नेपालबीच नार्क द्वारा विकसित पोषणयुक्त (बायोफोर्टिफाइड) गहुँका जातहरूको व्यावसायीकरण तथा मूल्य शृंखला विकास सम्बन्धी समझदारी पत्रमा मिति २०८३ साल श्रावण २५ गते नार्कको केन्द्रीय कार्यालय, सिंहदरबार प्लाजा, काठमाडौंमा हस्ताक्षर सम्पन्न भएको छ।

सम्झौता पत्रमा नार्कका कार्यकारी निर्देशक डा. श्रीमत श्रेष्ठ र बिग एग्रो ग्रुप लिमिटेडका अध्यक्ष श्री नबराज बुर्लाकोटीले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो। यस अवसरमा दुवै संस्थाका पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो।

यस सम्झौताअनुसार जिंक र आइरनयुक्त पोषणयुक्त गहुँ जातहरूको बीउ उत्पादनदेखि बजारसम्मको एकीकृत मूल्य शृंखला निर्माण गरिनेछ। नार्कले गुणस्तरीय बीउ, प्राविधिक सहयोग र प्रयोगशाला परीक्षण उपलब्ध गराउने र बिग एग्रोले किसानसँग प्रत्यक्ष खरिद सम्झौता गरी व्यावसायिकरुपमा गहुँजन्य वस्तु ब्रान्डिङ र बजारीकरण गर्नेछ। यो सम्झौताले नेपालमा कृषि अनुसन्धान र निजी क्षेत्रबीचको प्रत्यक्ष सहकार्य विस्तार गरी अनुसन्धानबाट उत्पादित प्रविधिलाई व्यावसायिक उद्योगसँग जोड्दै अनुसन्धान-उद्योग साझेदारी सुदृढ गरेको छ।