काठमाडौं । सरकारले आउँदो वर्षको लागि धानको समर्थन मूल्य निर्धारण गरेको छ । मुलुकमा उत्पादित धानको बजारीकरणसँगै किसानलाई उचित मूल्य प्रदान गर्नका लागि समर्थन मूल्य निर्धारण गरिएको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि भूमिव्यवस्था तथा सहकारी मन्त्रालय, अर्थ मन्त्रालय र नेपाल खाद्य संस्थानका प्रतिनिधिबीच सोमबार भएको बैठकले धानको समर्थन मूल्य निर्धारण गरेको हो ।

मन्त्रालयका अनुसार मोटा धानको मूल्य प्रतिक्विन्टल २ हजार २ सय ४७ रुपैयाँ र मध्यम धान प्रतिक्विन्टल २ हजार ४ सय ३८ रुपैयाँ निर्धारण गरिएको छ ।

किसानबाट व्यापारीले सस्तो मूल्यमा धान खरिद गर्दा किसान मारमा पर्न थालेपछि उचित मूल्य उपलब्ध गराउनका लागि सरकारले समर्थन मूल्य निर्धारण गरेको हो ।

प्रत्येक वर्ष धानको समर्थन मूल्य निर्धारण गर्ने गरिए पनि अझै कार्यान्वयनमा आउन सकेको छैन । किसानले उत्पादन गरेको धान विक्री गर्दा घाटा नपरोस् भनेर समर्थन मूल्य तोकिएको मन्त्रालयकी उपसचिव उर्मीला केसीले जानकारी दिइन् । धानको बजारीकरण र किसानलाई उचित मूल्य उपलब्ध गराउन समर्थन मूल्य निर्धारण गरिएको उनले जानकारी दिइन् ।

सरकारले यसअघि पनि देशभर समर्थन मूल्य तोक्दै आएको थियो । मूल्य तोके पनि कार्यान्वयन हुन सकेको थिएन । खाद्य संस्थानले विभिन्न जिल्लामा आफैंले समर्थन मूल्य निर्धारण गरेर धान खरिद गर्दै आएको थियो ।

कृषिका सहसचिव लेखनाथ आचार्यको संयोजकत्वमा गठित समितिले धानको धानको समर्थन मूल्य प्रस्ताव गरेको हो । समितिमा अर्थ, आपूर्ति, उद्योग मन्त्रालय र खाद्य संस्थानका प्रतिनिधि सदस्य छन् ।

प्रस्तावित समर्थन मूल्य मन्त्रिपरिषद्बाट स्वीकृत गरिने मन्त्रालयले जानकारी दिएको छ । समर्थन मूल्य तोक्दा लागत खर्च, बजार मूल्य, सिमानाको मूल्य विश्लेषण गरिने निर्धारण गरिएको मन्त्रालयले जानकारी दिएको छ ।

कृषि मन्त्रालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७२/७३ मा मुलुकभरी ४२ लाख ९९ हजार टन, २०७३/७४ मा ५२ लाख ३० हजार टन धान उत्पादन भएको थियो । यस्तै, आर्थिक २०७४/७५ मा ५१ लाख ५२ हजार टन उत्पादन भएको थियो । तर, सरकारले खरिद गर्न भने सकेको छैन ।