काठमाडौँ । स्वदेशी फूल तथा बिरुवाको उत्पादन, प्रवर्द्धन र बजारीकरण गर्ने उद्देश्यसहित नर्सरी व्यवसायी संघ नेपालको आयोजनामा ‘चौथो तिहार फ्लोरा एक्स्पो २०८३’ मंगलबारदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु भएको छ ।
‘तिहारको उत्सव, स्वदेशी फूलको महोत्सव’ नारासहित सुरु भएको एक्स्पो कात्तिक २१ गते शनिबारसम्म सञ्चालन हुनेछ । पाँच दिनसम्म चल्ने एक्स्पोको कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उद्घाटन गरिन् ।
उद्घाटन कार्यक्रममा मन्त्री चौधरीले स्वदेशी फूलको प्रवर्द्धन र नर्सरी व्यवसायको विकासका लागि आवश्यक नीतिगत तथा प्राविधिक सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताइन् । उनले स्वदेशी फूल तथा बिरुवाको उत्पादन र उपभोग बढाउनुपर्नेमा जोड दिँदै नर्सरी व्यवसायलाई उत्पादन वृद्धि, वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु परिवर्तनको असर न्यूनीकरणसँग जोड्नुपर्ने बताइन् ।
नर्सरी व्यवसायीले भोग्दै आएको जग्गा अभावको समस्या समाधानका लागि सरकारले भूमि बैंकको अवधारणा अघि बढाउन लागेको जानकारी दिँदै मन्त्री चौधरीले रैथाने फूल तथा नेपालमै उत्पादित वस्तुको उत्पादन र बजारीकरणलाई प्राथमिकता दिन व्यवसायीलाई आग्रह गरिन् ।
कार्यक्रममा नर्सरी व्यवसायी संघ नेपालका अध्यक्ष राम्जीप्रसाद तिमिल्सिनाले सरकारी स्वामित्वमा रहेका खाली जग्गा नर्सरी व्यवसायीलाई उपलब्ध गराउन माग गरे । लामो समयदेखि प्रयोगविहीन रहेका सरकारी जग्गालाई उत्पादनमूलक काममा उपयोग गर्नुपर्ने उनको भनाइ छ ।
उनले सहरी क्षेत्रमा खाली रहेका जग्गामा नर्सरी बजार स्थापना गर्ने वातावरण मिलाउन पनि सरकारको ध्यानाकर्षण गराए । साथै, सातै प्रदेशमा प्रदेशस्तरीय मेला, प्रदर्शनी तथा तालिम सञ्चालन गर्ने गरी नीति बनाउन आग्रह गरे ।
एक्स्पोमा पुष्प, फलफूल, कृषि, वन तथा जडीबुटी नर्सरीका विभिन्न उत्पादन प्रदर्शनी तथा बिक्रीका लागि राखिएका छन् । विभिन्न प्रजातिका फूल फुल्ने तथा नफुल्ने सजावटी बिरुवा, फलफूलका बिरुवा, कृषि तथा वनजन्य उत्पादन र जडीबुटी नर्सरीका सामग्री मेलाका आकर्षणका रूपमा रहेका छन् ।
संघकी उपाध्यक्ष तथा मेला संयोजक लक्ष्मी महर्जनका अनुसार एक्स्पोमा व्यावसायिक, सरकारी, संघका आधिकारिक तथा प्रतिस्पर्धात्मक गरी कुल ७३ वटा स्टल रहेका छन् । मेलामा ६३ वटा व्यावसायिक स्टल, वनस्पति विभाग र पुष्प विकास केन्द्रसहित संघका छवटा आधिकारिक स्टल तथा प्रतिस्पर्धाका चारवटा स्टल छन् ।
संयोजक महर्जनले मेलामा ३५ हजार अवलोकनकर्ता सहभागी हुने र एक करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा गरिएको बताइन् । उनका अनुसार आर्थिक मन्दीका कारण सुस्ताएको हरित अर्थतन्त्रमा संलग्न उद्यमी तथा व्यवसायीलाई प्रोत्साहित गर्नुका साथै नर्सरी क्षेत्रमा लगानी, रोजगारी सिर्जना र नयाँ उद्यमशीलताको सम्भावना उजागर गर्नु एक्स्पोको मुख्य उद्देश्य हो ।
मेलामा सर्वसाधारणका लागि प्रतिव्यक्ति १०० रुपैयाँ र विद्यार्थी तथा ज्येष्ठ नागरिकका लागि ५० रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ । एक्स्पो बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म अवलोकन गर्न सकिनेछ ।









