ललितपुर। पछिल्लो समय मुलुकमा उत्पादन हुने दूधमा कोलिफर्म भेटिएको, सोडा, नून र युरियाजस्ता पदार्थको मिसावट गरिएको विषय चर्चामा आइरहँदा यसको समाधानका लागि नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिक सङ्घ (नेफोष्टा)ले सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ ।

राजधानीमा गरिएको कार्यक्रममा प्रति १० ग्राम दूधमा कोलिफर्मको मात्रा १० कोलोनी फर्मिङ यूनिट (सीएफयू) सम्मलाई मान्यता दिनेगरी ऐनको संशोधन हुनुपर्नेमा कृषकहरूले जोड दिएका छन् ।

कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी पूर्वमहानिर्देशक जीवनप्रभा लामाले ऐनलाई संशोधन गरेर मात्र समस्याको समाधान नहुने धारणा राखिन् । उनका अनुसार दूध उत्पादनदेखि बजारीकरण गर्दासम्ममा विविध कारणले दूधमा कोलिफर्मको मात्रा बढिरहने हुँदा ऐन संशोधनले समस्या हल हुँदैन । दूधमा १–२–४–१६ सीएफयू प्रति १० ग्राम कोलिफर्म वृद्धि हुने लामाको भनाइ छ ।

दूध उत्पादन क्षेत्रमा उपभोक्ता, उत्पादक र नियमनकारी निकाय गरी ३ ओटाको प्रमुख भूमिका रहे पनि नियमनकारी निकायले भने यस क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह नगरेको खाद्यविज्ञ गङ्गाप्रसाद खरेलले बताए ।

सरकारले अनुगमनको नाममा उद्योग बन्द गराउने गतिविधि गरेको उनको भनाइ छ । उद्योगको समस्या समाधान गर्र्न सरकार पनि जिम्मेवार हुनुपर्ने उनले बताए ।

दूधमा देखिएको कोलिफर्मलाई हानिकारक भन्न नमिल्ने नेफोष्टाका पूर्वअध्यक्ष देवभक्त शाक्यको भनाइ छ । भारतलगायत अन्य देशको नीतिकै अनुरूप पनि कम्तीमा १० सीएफयू कोलिफर्म प्रतिग्राम दूधमा उपलब्ध हुने गरेको भन्दै सरकारले सोही नीति अवलम्बन गर्नुपर्नेमा उनले जोड दिए ।

हाल यस क्षेत्रमा पर्याप्त दक्ष प्राविधिकको अभावले गर्दा पनि बेलाबेलामा समस्या उत्पन्न हुने गरेको उनको ठम्याइ छ ।