
ललितपुर। कालिमाटी तरकारी बजार र विभिन्न दूध उद्योगमा छापा मारेर एकाएक चर्चामा आएका कृषि मन्त्री चक्रपाणी खनाल कालिमाटी तरकारी बजारमा रहेका व्यवसायीहरुलाई कारबाहि गर्ने निर्णयबाट पछाडि हटेका छन् ।
आफु स्थलगत अनुमगनमा जाँदा कालिमाटी बजारमा रहेका विभिन्न तरकारीका स्टलहरु सुधार गर्न जरुरी रहेको पाईएको बताउँदै उहाँले आफुले भदौसम्म सुध्रने मौका दिएको स्पष्ट पार्नुभयो ।
मंगलबार काठमाडौमा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री खनालले तोकिएको समयमापनि मापदण्ड पुरा नभए कालिमाटी बजार नै बन्द गराउन बाध्य हुने बताउनुभयो ।
मन्त्री खनालले किसानहरुले आफुले उत्पादन गरेका वस्तुहरु सिधै उपभोक्ताहरु समक्ष पुर्याउने वातावरण बनाउने पनि विश्वास दिलाउनुभयो । जनतालाई भूमी र आवासको व्यवस्था गर्ने लगायत आगामी २ वर्षभित्र सुकुम्वासी, भूमि व्यवस्थापन लगायतका मूल÷मूल समस्याहरु हल गर्ने समेत बताउनुभयो ।
उहाँले आफुले अहिले तत्कालिन, मध्यकालिन र दिर्घकालिन योजना बनाएर काम गरिरहेको पनि जानकारी दिनुभयो । यो वर्षभित्रै मोही र सुकुम्वासी समस्या हल गर्नको लागि मन्त्रालयले संयन्त्र समेत गठन गरेको जनाउँदै खनालले भदौ मसान्तभित्र सबै मोहीको तथ्यांक यकिन गरिसक्ने जिकिर गर्नुभयो ।
मुलुकभर यतिवेला बाढि, पहिरो लगायत प्राकृतिक प्रकोपको घट्नाहरु घटिरहेकोप्रति सरकारको ध्यानाकार्षण भएको बताउँदै प्राकृतिक प्रकोपबाट हुने क्षति नियन्त्रण गर्न, उद्धार र राहतको व्यवस्थापन गर्न सरकार उच्च सकर्ततामा रहेको मन्त्री खनालले बताउनुभयो ।