ललितपुर। सरकारले धानको न्यूनतम समर्थन मूल्य तोक्ने तयारी गरेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सोमबार बसेको बैठकले धानको समर्थन मूल्य तोक्ने सम्बन्धमा अध्ययन गरी प्रतिवेदन बुझाउन एक समिति गठन गर्ने निर्णय गरेको आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले जानकारी दिए।

धानको उत्पादन, बजार व्यवस्था, प्रचलित मूल्य लगायतको विश्लेषण गरी प्रतिवेदन पेस गर्न उक्त समितिलाई एक साताको समय दिइएको छ। समर्थन मूल्य तोक्न गरिएको यो निर्णय आगामी मंसिरमा उत्पादन हुने धानका लागि भएको मन्त्रालयले जनाएको छ।

सरकारले चालू आर्थिक वर्षमा निकै ढिला गरी धानको न्यून समर्थन मूल्य तोकेको थियो। आगामी आर्थिक वर्षका लागि भने समयमै तोक्ने तयारी गरिएको छ।

किसानले उत्पादन गरेको धानको लागत अनुसारको मूल्यको सुनिश्चितता गर्न यस्तो समर्थन मूल्य तोक्ने अभ्यास छ।

न्यूनतम समर्थन मूल्य तोक्ने विषयमा अध्ययन गरी प्रतिवेदन बुझाउन कृषि मन्त्रालयका सहसचिव लेखनाथ आचार्यको संयोजकत्वमा अर्थ मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रतिनिधि सहभागी समिति गठन गरिएको हो।

उक्त समितिले गहुँ र उखुको न्यूनतम समर्थन मूल्य पनि तोक्ने सहसचिव ढकालले बताए।