बुटवल।  दुध उत्पादनमा आत्मनिर्भर बनेको रुपन्देहीको देवदह नगरपालिकाले आगामी आर्थिक बर्षमा थप १ हजार गाईमा कृतिम गर्भाधान गराउने भएको छ ।

विदेश बाट आयात गरिएको बाच्छी मात्रै जन्मीने (सेक्स सिमोन) १ हजार डोज आगामी आर्थिक बर्षमा वितरण गरिने भएको हो । देवदह नगरपालिकाको तेस्रो नगरसभाबाट खासगरी पशुको नस्ल सुधारको लागि उक्त योजना अगाडी बढाइएको देवदह नगरपालिकाका मेयर हिरा बहादुर खत्रीले जानकारी दिए । उनका अनुसार यसको लागि टेन्डर आह्वान प्रक्रिया अगाडी बढाई सेक्स सिमोन खरिद गरी वितरण गरिने छ ।

एउटा डोजको न्युतम ३ हजार रुपैयाँ पर्दछ । सोही अनुरुपमा ३० लाख रुपैयाँ विनियोजन गरी किसानलाई निःशुल्क रुपमा सिमाने उपलब्ध गराउन लागिएको हो ।

मेयर खत्री भन्छन्–‘किसानले लगानी अनुसारको आम्दानी गर्न सकेका छैनन्, लगानी न्युनीकरण आम्दानी ज्याद बनाउनको लागि हामीले घाँसमा आधारित पशुपालन र पशुमा नस्ल सुधारको कार्यक्रमलाई प्राथमिकतामा राखेर अगाडी बढाएका छौं ।’

बार्षिक रुपमा देवदह नगरपालिका भित्र किसानहरुले करिव ३० करोड रुपैयाँ बरबारको आम्दानी दुधबाट मात्रै गर्दै आएका छन् । जुन रकम उत्पादन भएको दुधको केही प्रतिशत मात्र हो ।

सिक्स सिमोनको माध्यमबाट गर्भधान गराउँदा गाईले बाच्छी नै पाउने संभावना ९९ प्रतिशत रहेको छ । नेपाल सरकारले केही समय देखि सानो संख्यामा यो सिमोन वितरण गर्दै आएकोमा यस पटक देवदहले आफै यसको थालनी गर्न लागेको हो । देवदहमा बार्षिक १० हजार गाईमा कृत्रिम गर्भाधान गराउन सिमोन आवश्यक पर्दछ । तर अहिले पहिलो चरणमा १ हजार गाई मा कृत्रिम गर्भधान गराउने योजना अगाडी बढाइएको हो ।

मेयर खत्रीका अनुसार पशुधन विमामा मा ५० प्रतिशत अनुदान नगरपालिकाले दिने भएको छ । गाई, बाख्रा, भैसी, पाडा वा हाँस जे मा पनि किसानले विमा गरेर आएमा त्यसको ५० प्रतिशत मिम्रियम रकम प्रदान नगरपालिकाले गर्ने भएको हो । गत बर्ष नगरपालिका भित्र करिव ४ हजार पशुमा पशुधन विमा गरिएको थियो ।

कृषिमा आत्र्मनिभएर भएपनि किसानले उत्पादन गरेको दुध विक्रि वितरण उचित समयमा नहुँदा किसानहरु मारमा परेको गुनासोको आधारमा किसानले उत्पादन गरेको दुधलाई मिल्क पाउडर बनाएर विक्री गर्ने उद्योगको लागि समेत पहल गरिएको मेयर खत्रीको भनाई रहेको छ । यसको लागि प्रदेश सरकार संग आवश्यक छलफल गरि मिल्कीङ्ग पाउण्डर प्लान्ट देवदहमा नै सञ्चालन गर्र्नको लागि पटक पटक आग्रह गरिएको मेयर खत्रीले जानकारी दिए ।

मेयर खत्रीका अनुसार यस बर्ष नै देवदह नगरपालिकाले किसान परिचय पत्र वितरणको योजना अगाडी बढाएको छ । वास्तविक किसान परिहचान गरी अनुदान लगायतका विभिन्न कार्यक्रम सञ्चालन गर्नको लागि यस्तो किसान परिचय पत्रको अवधारण अगाडी बढाइएको हो । किसानले पाएका विभिन्न सेवा सुविधाहरुलाई विवरणको रुपमा राख्ने गरी यस्तो कार्य अगाडी बढाइने मेयर खत्रीको भनाई रहेको छ ।