ललितपुर। मौसम पूर्वानुमान महाशाखाले शनिबार राति देशका पूर्व र पश्चिमका अधिकांश क्षेत्रमा भारी वर्षा हुने जनाएको हो।

मनसुन भित्रिइसकेको तथा मनसुनी न्यून चापीय क्षेत्र नजिक आएकाले अधिकांश स्थानमा भारी वर्षाको सम्भावना भएको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए।

शनिबार दिनभर पनि देशका विभिन्न स्थानमा मौसम बदली भई केही स्थानमा वर्षा भएको छ।

महाशाखाले विशेष बुलेटिन निकालेर शनिबार देखि सोमबार सम्म देशका पूर्व र पश्चिमका धेरै जसो स्थानमा हल्का देखि मध्यम र केही स्थानमा भारी वर्षा हुने उल्लेख गरेको हो ।

आइतबार बागमती र रिउ खोला, पश्चिम तर्फका सबै नदीहरु राप्ती, बबई, मोहना, मछेली लगायतका नदीमा पानीको बहाब बढ्ने भएकोले सचेत हुन समेत महाशाखाले आग्रह गरेको छ । यस्तै, शनिबारबाट पहाडी र चुरेबाट बहने स–साना नदीमा पानी परेको बखत सचेतना अपनाउन समेत महाशाखाले ध्यानाकर्षण गराएको छ ।

स–साना नदीहरुमा एकाएक पानी बढ्न सक्ने भएकाले शनिवार नदी तटीय क्षेत्रमा गर्नुपर्ने कामहरु बालुवा निकाल्ने, गिट्टी कुट्ने लगायतमा सतर्कता अपनाउन अनुरोध गरेको छ ।

महाशाखाले मनसुन सुरु भएदेखि नै २४ सै घण्टा देशभरका नदीमा बहने पानीको बहावबारे सर्वसाधारणलाई जानकारी गराएको छ। बाढीको सम्भावना भएका क्षेत्रमा जल तथा मौसम विज्ञान विभागको बाढी भविष्यवाणी शाखाले एनटीसी र एनसेलको मोबाइल सेटमा सूचना समेत पठाउने गरेको छ ।