
स्याङ्जा। स्याङ्जाको वालिङ ९ मा पशुहरुमा नाम्ले जुका रोगको प्रकोप देखिएको छ । वालिङ नगरपालिका वडा नं। ९ मा हरेको सप्तरङ्गी कृषि सहकारीले एक दिने निशुल्क पशु शिविरबाट पशुहरुमा नाम्ले रोग देखा परेको हो ।
पशुमा लाग्ने रोग पत्ता लगाँउन र निराकरण गर्न सहकारीले संचालन गरेको शिविर बाट पशुमा माटे जुकाको रोग देखिएको प्राविधिकहरुले बताएका छन् ।
बर्षायामको समयमा पशुलाई चिसो र शंखे किरा लागेको घासपात खुवाउदा माटे जुका रोग लाग्ने गरेको पशु प्राविधिक डोलराज गैह्रेले बताए । समान्यतया गाँउघर तिर यस रोगलाई माटे भन्ने पनि गरिन्छ ।
शिविरमा पशुको गोवर परिक्षण गर्न ल्याउने करिव ८० प्रतिशत पशुमा नाम्ले माटे जुका रोग भेटिएको बताइएको छ । यसको रोगथाम गर्नका लागि सहकारीले किसानहरुलाई निशुल्क औषधी समेत वितरण गरेका सप्तरङ्गी सहकारीका अध्यक्ष तारा भुषालले जानकारी दिए । शिविरमा करिव ३ सय ६५ किसानले ल्याएको पशुको गोवर परिक्षण गरिएको थियो ।
नागरिकको शिविर बेला बेलामा हुने गरेपनि पशुको शिविरमा भने सरकारको खासै ध्यान नगएका बेला सहकारीले पशु शिविर राखेर यहाँका किसानको खुशी र पशुको आयु बढाउने काम गरेको वालिङ नगरपालिकाका सामाजिक शाखा अधिकृत पदमप्रसाद पाण्डेले बताए ।
बर्षायममा बढी पशुमा यो रोग देखा पर्ने हुदा किसानहरुलाई सचेत रहन पशु चिकित्सिकहरुले सुझाएका छन् ।