
विराटनगर। प्रदेश नम्बर १ का किसानको दैनिक १ करोड २५ लाखभन्दा बढी मूल्यको २ लाख ८५ हजार लिटर दूधले बजार पाउन सकेको छैन।
प्रदेश नम्बर १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेशका किसानको दैनिक सवा करोड मूल्य बराबरको दूध विक्री गर्न नपाएको जानकारी दिएको हो ।
दूध नबिकेपछि झापा जिल्लाको शरणामतीका किसानले गत महिना सडकमा दूध पोखेर विरोध जनाएका थिए । करिब ३ सय किसानले आफूले जम्मा पारेको दूध विक्री नभएकोमा विरोध प्रकट गर्दै सडकमै दूध घोप्ट्याएका हुन् ।
मन्त्रालयका उपसचिव एवम् पशुपंक्षी विकास महाशाखाका प्रमुख डा अशोककुमार सिंहका अनुसार प्रदेशमा च्याउझैँ पलाएका निजी डेरी किसानसित दूध खरिद गरेरभन्दा पाउडर घोलेर दूध बेच्न पल्किएपछि किसानको दूध विक्री हुन छाडेको हो ।
‘धूलो दूधमा नौनी घोलेर फ्याटसहितको दूध तयार गर्दा प्रति लिटर ४५ रुपैयाँ लागत पर्छ’, कृषि सहकारीका एक सञ्चालकले भने, ‘तर किसानसित दूध खरिद गरेर बजारमा बेच्न पुर्याउँदा लागत प्रति लिटर ५६ रुपैयाँ हुन्छ । धूलो दूधको प्रयोगबाट प्रति लिटर १२ रुपैयाँको नाफाको स्वाद पाएका निजी डेरी देखाउनका लागि मात्र किसानको दूध न्यून परिमाणमा खरिद गर्छन् ।’
अघिल्लो आर्थिक वर्ष २०७२-०७३ का तुलनामा गत आर्थिक वर्ष २०७३/०७४ मा प्रदेशमा दूधको उत्पादन ४ प्रतिशतले बढेको महाशाखाको दाबी छ ।
प्रदेशमा आव २०७३/०७४ मा ५४ करोड ९७ लाख ५१ हजार लिटर दूध उत्पादन भएको महाशाखाले जनाएको छ ।सिंहले प्रदेश दूधमा आत्मनिर्भर भएको र यहाँ दूधको पैठारी गरिरहनु नपर्ने बरु निर्यात गर्न सक्ने अवस्थामा रहेको दाबी गरे ।
तर विशेषज्ञ सिंहको दाबीका विपरीत विराटनगर भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा १० करोड मूल्य बराबरको ३ लाख ७ हजार १ सय ७३ किलोग्राम पाउडर दूध तेस्रो मुलुकबाट आयात गरिएको तथ्याङ्क छ ।
एक किलोग्राम धूलो दूधबाट १२ लिटर दूध तयार गर्न सकिन्छ । चालु जेठ महिनासम्म पैठारी गरिएको दूधबाट ३६ लाख ८६ हजार लिटर दूध उत्पादन हुनसक्ने उपसचिव सिंहको भनाइ छ । उनले भने, ‘यसबाहेक काँकडभिट्टा नाकाबाट गरिएको धूलो दूधको पैठारी र यसबाट तयार हुनसक्ने दूधको त हामीले हिसाब नै गरेका छैनौँ ।’
निजी डेरीले पाउडर प्रयोग गरेर किसानको दूध खरिद नगरेपछि विराटनगरको दुग्ध विकास संस्थानमा चाप परेको छ । संस्थानसित दैनिक ३० हजार लिटर दूधको व्यवस्थापन गर्ने क्षमता भए पनि ६० हजार लिटर आइरहेको संस्थानका दूध उत्पादन प्रमुख दामोदर ढकालले बताए ।
‘संस्थानको विराटनगरस्थित भण्डार धूलो दुध, मखन र घिउले खचाखच भरिएको छ’, प्रमुख ढकालले भने, ‘तर पनि दूध बढी आइरहेको छ र व्यवस्थापन गर्न समस्या भइरहेको छ ।’
स्रोतःबिजमाण्डूबाट