ललितपुर। ७५ घरधुरी सहभागी हुने अग्र्यानिक भिलेज मुलुकका पाँच स्थानबाट सञ्चालन हुने भएका छन् ।

कृषि, भूमि व्यवस्थापन तथा सहकारी मन्त्रालयले सामूहिक कृषिका माध्यबाट पर्यटन प्रवर्द्धन गरी अर्ग्यानिक कृषिजन्य उत्पादनको बजारीकरण गर्न एक करोड २५ लाख रुपैयाँ बजेट विनियोजन गरी अर्ग्यानिक भिलेज स्थापना गर्न लागेको मन्त्रालयका प्रवक्ता योगेन्द्रकुमार कार्कीले जानकारी दिए ।

अहिले ५ स्थानमा अर्ग्यानिक भिलेज स्थापना भइरहेको र असार मसान्तसम्म निर्माणको काम सम्पन्न भई आगामी साउनभित्र सञ्चालनमा ल्याउने लक्ष्य रहेको उनले बताए । ‘मन्त्रालयले एक भिलेज स्थापना गर्न २५ लाख छुट्याएको छ । त्यसभन्दा बढी लगानी लागे प्रस्तावक कम्पनीले व्यहोर्छ,’ उनले भने, ‘आगामी साउनभित्र सञ्चालनमा ल्याउने लक्ष्य लिएका छौं ।’

सुनसरीको माछामारा, कैलालीको घोडाघोडी, सोलुखुम्बुको पातले, उदयपुरको रौतामाई र नुवाकोटको ककनीमा अर्ग्यानिक भिलेज स्थापना गर्न मन्त्रालयले गत वर्षदेखि नै योजना अघि सारेको थियो । गत वर्ष सात स्थानमा स्थापना गर्ने भनिए पनि पछि ५ स्थान उपयुक्त हुने मन्त्रालयको निर्णयअनुरुप अहिले प्रस्ताव छनौट भई निर्माणको काम भइरहेको छ ।

एउटा अर्ग्यानिक भिलेजमा कम्तीमा ७५ घरपरिवार सहभागी हुने छन् । हरेक घरपरिवारले उत्पादन गरेका अर्ग्यानिक कृषिजन्य वस्तु जस्तैः अर्ग्यानिक तरकारी, फलफूल, दूध, हस्तकलाका सामान, कृषि औजार, माछा, मासु तथा अण्डालगायतका उत्पादन सङ्कलन गरी बजारीकरण गरिने छ ।

यसबाट किसानले उत्पादन गरेका कृषिजन्य वस्तुको उचित मूल्य, ताजा तथा अर्ग्यानिक उत्पादनको उपभोग र किसानको आम्दानी तथा जीवनस्तर सुधार्न सहयोग पुग्ने कृषिविज्ञहरु बताउँछन् ।