ललितपुर। उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालमा दैनिक झण्डै ५० करोड कृषिजन्य वस्तु आयात भइरहेको बताएका छन् ।

६६ प्रतिशत नागरिक कृषि पेशामा आवद्ध रहेपनि राष्ट्रको कूल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान खुम्चिदै गइरहेको उनले बताए ।

८ औं राष्ट्रिय खाद्य विज्ञान तथा प्रविधि सम्मेलन काठमाडौंमा सुरु भएको छ मुलुकको कूल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान वृद्धि गर्ने उद्देश्यका साथ शुक्रबारबाट काठमाडौंमा राष्ट्रिय खाद्य विज्ञान तथा प्रविधि सम्मेलन सुरु भएको हो ।

२ दिनसम्म चल्ने सम्मेलनको उदघाटन गर्दैै उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकलाई खाद्यमा आत्मनिर्भर बनाउन सम्मेलनले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे ।

उनले वाषिर्क ४० अरव बराबर मूल्यको खाद्य बस्तु आयात गरिरहनु परेको वर्तमान अवस्थाबाट मुलुकलाई मुक्त गराउन पनि खाद्य बस्तुको उत्पादन वृद्धिका लागि आवश्यक बहस र छलफलको आवश्यक्तामा पनि जोड दिए ।

उपराष्ट्रपति पुनले खाद्य बस्तुमा बढ्दो परनिर्भरता हटाउन सक्दो पहल गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

चालू आर्थिक वर्षको पछिल्लो तथ्यांक अनुसार नेपालको कूल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २७ दशमलव ६ प्रतिशत रहेको छ । उपराष्ट्रपति पुनले कृषि क्षेत्रको निराशाजनक अवस्था रहेको तथ्यांक उल्लेख गर्दै यसलाई आत्मनिर्भर बनाउन ढिलाई गर्न नहुनेमा पनि जोड दिए ।

कार्यक्रममा बोल्दै कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीले कृषि क्षेत्र मुलुकको आर्थिक विकासको मेरुदण्ड भएकाले यसको उचित व्यवस्थापनमा सरकार प्रतिवद्ध रहेको बताइन् । उनले कृषि उत्पादन र बजारीकरणका लागि सरकारलाई आवश्यक सुझाव दिन पनि सम्बन्धित सबै पक्षलाई आहृवान गरिन् ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको आयोजनामा आयोजित सम्मेलनमा देशभरका कृषि विज्ञहरु सहभागी भएका छन् ।