काठमाडौं। कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणी खनालले नागरिकको स्वास्थ्यमा खेलबाड गर्ने कुनै पनि डेरी उद्योगलाई सरकारले नछाड्ने चेतावनी दिएको छ ।

काठमाडौंको बालाजु औद्योगिक क्षेत्रभित्र रहेको आधुनिक डेरी प्रोडक्ट उत्पादन केन्द्र र डिडिसी उत्पादन केन्द्रमा निरीक्षण गर्दै मन्त्री खनालले केही डेरी उद्योगले जनस्वास्थ्यमाथि खेलबाड गरेको बताए ।

डेरी उद्योगको निरीक्षणका क्रममा उद्योगभित्र फोहोर मैला र प्रदूषण भेटिएको, डेरीमा प्रयोग गरिने मेसिन फोहोरमुक्त नभएको र डेरी संचालन गर्दा कामदारले पालना गर्नुपर्ने कुनै नियम पालना नगरेको फेला परेको छ ।

मन्त्री खनालले बालाजु औद्योगिक क्षेत्रभित्र रहेका डिडिसी, आधुनिक डेरी प्रोडक्ट प्रालि, काठमाडौं दुग्ध वितरण आयोजना कार्यालयको निरीक्षण गरेका थिए ।

आधुनिक डेरी प्रोडक्टले सरसफाईमा ध्यान नदिएको, दूध बनाउन मिति उल्लेख नभएको पाउडर प्रयोग गरेको भेटिएको थियो ।

त्यसैगरी दुग्ध पदार्थको उत्पादनमा असल उत्पादन प्रणाली प्रयोग गर्नुपर्ने भए पनि आधुनिक डेरी प्रोडक्टले त्यसो नगरेको भेटिएको मन्त्री खनालले बताए ।

दूध बनाउन प्रयोग हुने पाउडरमा स्पष्ट रुपमा मिति उल्लेख नभएको भेटिएपछि अनुगमन टोलीले पाउडर गोदाममा सील गरेको छ ।

मन्त्री खनालले नियमविपरित सञ्चालनमा आएका उद्योगलाई तुरुन्तै कारवाही गर्ने बताए ।