कालिमाटी। कालीमाटी फलफूल तथा तरकारी बजारमा २० गुणा बढी भाडा असुल गर्ने बिचौलियाहरूको सूची तयार भएको छ । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालको अनुगमनको प्रभावस्वरुप कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिचौलियाहरूको सूचि तयार पारेको हो ।

मन्त्री खनालले गत सोमबार बजारको अनुगमन गरी बजारलाई तत्काल बिचौलियामुक्त गर्न समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेललाई निर्देशन दिएका थिए । मन्त्री खनालको निर्देशनपछि समितिले आफूसँग भाडा सम्झौता गरेर सटर चर्को मूल्यमा अरुलाई नै भाडामा लगाउने बिचौलियाको सूचि तयार गरेको हो । कृषकबाट सस्तो मूल्यमा तरकारी खरिद गरी उपभोक्तालाई चर्को मूल्यमा बेच्न भूमिका खेल्ने बिचौलियाको नम्बर निकै ठूलो रहेको समितिका प्रवक्ता विनय श्रेष्ठले जानकारी दिए । उनले सञ्चालक समितिको बैठक बसेर कारबाहीको निर्णय गर्ने जानकारी दिए ।

कालीमाटी फलफूल तथा तरकारी बजारमा हाल ३ सय ८७ वटा सटर छन् । समितिले ती सटरमा क्षेत्र अनुसार ५ देखि ८ हजार भाडा लिने गरेको छ । तर, समितिसँग यति सस्तोमा भाडा सम्झौता गरेका बिचौलियाहरूले ४० गुणा बढी अर्थात २ लाखसम्म भाडा असुल्ने गरेको मन्त्री खनालले सोमबार गरेको अनुगमनका क्रममा खुलेको थियो । समितिले मासिक २७ लाख भाडा पाउने सटर बिचौलियाहरूले मासिक ७ करोड रुपैयाँभन्दा बढी उठाएर रजाईं गरेको पाइएको छ ।

सटर भाडा ४० गुणा महँगो भएकै कारण तरकारीको भाउ महँगो भएको र बिनालगानी बिचौलियाहरू मोटाएको सरकारको निष्कर्ष छ ।