काठमाडौं। सात वर्षपछि फेरी मुलुकमा मिल्क होलीडे शुरु भएको छ । भारत लगायतका मुलकबाट दूध पाउडर, बटर बढी मात्रामा भित्रिएपछि स्वदेशी दुध विभिन्न प्रशोधन केन्द्रहरुले लिन छोडेसँगै मिल्क होलिडे शुरु भएको हो ।

केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड नेपालका अध्यक्ष नारायणप्रसाद देवकोटाले मिल्क होलीडे इलामदेखि शुरु भएको बताए । उनकोअनुसार अहिले इलामस‌ँगै, चितवन, मेरङ, झापा, तेह्रथुम लगायतको स्थानमा मिल्क होलिडे शुरु भइसकेको छ । ‘विगतमा सिजनमा मिल्क होलिडे हुन्थ्यो,’ उनले भने ‘अहिले पहिलो पटक ड्राइ सिजन (अफसिजन, दुध कम उत्पादन हुने समय) मा मिल्क होलिडेको समस्या भोग्नु परेको छ ।’
यो भन्दा पहिले २०५७/६८ र २०६६/६७ सालमा मिल्क होलिडेको समस्या विकराल रुपमा भोग्नु परेको उनले जानकारी दिए । सहकारी संघले काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा उनले अहिले दूध विभिन्न सहकारी दुग्ध प्रसोधन गर्ने सहकारी संस्था तथा दुग्द विकास संस्थान (डीडीसी) दूध लिन भारी रुपमा कटौति गरेपछि दैनिक ५० हजार लिटर दूध बिक्री हुन नसकेको उनको भनाइ छ ।

सरकारी तथ्याङ्क अनुसार मुलुकमा दैनिक १९ लाख लिटर दूध उत्पादन हुन्छ । सहकारी संस्थाले मात्रै औसतमा ७ लाख लिटर दूध उत्पादन गर्दै आएको छ । यद्यपि नेपाली बजारमा ३/४ लाख दुध अपुग भएको केन्द्रीय दुग्ध सहकारी संघको भनाइ छ ।