काठमाडौं। काठमाडौं उपत्यकाका अधिकांश बधशाला तथा मासुपसल दर्ताविना नै सञ्चालमा छन् । जिल्ला पशु सेवा कार्यालय काठमाडौं र काठमाडौं महानगरपालिकाले संयुक्त रूपमा वडा नम्बर–३ मा गरेको अनुगमनका क्रममा दर्ताविना नै सञ्चालनमा रहेका बधशाला अव्यवस्थित रहेको पाइएको छ ।

उपत्यकामा दैनिक ६५ स्थानका खुला चौर र चोकमा झन्डै ६ सय राँगाभैँसी काटिने गरिएको तथ्यांक छ । तर, काटिनुअघि परीक्षण हुने गरेको छैन । अव्यवस्थित रूपमा रहेका वधशाला, थोक वा साना मासु पसल पनि विनादर्ता सञ्चालन भइरहेको पाइएको छ ।

‘अनुगमनका क्रममा झन्डै ७० प्रतिशतभन्दा बढी मासुपसल दर्ताविना नै सञ्चालन भइरहेको पाइएको छ,’ जिल्ला पशुसेवा कार्यालय, काठमाडौंका वरिष्ठ पशु चिकित्सक गौरीमान श्रेष्ठका अनुशार अधिकांश मासुपसल सरकारी मापडण्डविना नै सञ्चालित छन् भने कुनैले पनि सरकारलाई कर तिरेका छैनन् ।’

उनका अनुसार अनुगमनका क्रममा कुहिएको मासु पनि फ्रिजमै पाइएको थियो । व्यवसायीले पसल तथा व्यक्तिगत सरसफाइमा पर्याप्त ध्यान नदिएको, फोहोर पानीको प्रयोग गरेको, पसलमा झिँगा भन्केको अवस्था भेटिएको श्रेष्ठले बताए ।

‘व्यवसायीलाई पसल सुधार र दर्ताका लागि २० दिनको समय दिएका छौँ, निर्देशन पालना नभए कानुनबमोजिम कारबाही हुन्छ,’ काठमाडौं महानगरपालिकाका पशु विकास अधिकृत डा. रुमिना महर्जनले भनिन् । टोलीले खसी र कुखुराको मासुपसल पनि अनुगमन गरेको थियो ।

पशु जाँचै नगरी वध :
मासुका लागि वध गरिने पशु स्वस्थ भए वा नभएको परीक्षण हुने गरेको छैन । ‘हामीकहाँ त्यस्तो सिस्टम नै छैन । पशु रोगाएको पाइए झन् छिटो काटिन्छ र पहिला पसलमा पुग्छ,’ डा. महर्जनले भनिन् । पशु वधशाला तथा मासु जाँच ऐन–२०५५ तथा पशु वधशाला तथा मासु जाँच नियमावली–२०५६ लागू हुन नसक्दा मासु व्यवसाय अव्यवस्थित बनेको उनको भनाइ छ ।

मरेका पशु पनि बिक्री :
अनुगमनका क्रममा मरेका कुखुरा, खसी र राँगाभैँसी पनि बेचिने गरेको पाइएको टोलीका एक सदस्यले बताए । ट्रकमा कोचेर राँगाभैँसीको ढुवानी गर्ने क्रममा मरेका राँगा, भैँसी, खसी, कुखुरा छिटै काटेर व्यवसायीले पसलमा पठाउने गरेका पाइएको छ ।