जुम्ला। जुम्लाको पातारासी गाउँपालिकामा सोमबार साँझ परेको असिनापानीले कृषकहरूले लगाएको स्याउबाली ९५ प्रतिशतभन्दा बढी नष्ट भएको छ । ठूलो मात्रामा परेको असिनापानीले स्याउको फूल तथा चिचिला र दाना झारेपछि चौँधबिस क्षेत्रका कृषकहरूले लगाएको यो वर्षको स्याउबाली नष्ट भएको पातारासी गाउँपालिकाका कृषि संयोजक लक्षिराम महतले बताए ।

‘असिनाले भर्खर फुल्दै गरेका फलफूलको सबै फूल र दाना झारेको छ । अब यो वर्षको स्याउ उत्पादन शून्यमा झर्छ,’ उनले भने, ‘फलफूलका बिरुवाको बिमा गरेका कृषकले राहत पाउलान्, तर बिमा नगरेका कृषकहरू भने साह्रै मर्कामा पर्ने भए ।’

कृषकको वर्ष दिनको लगानी असिनाले झारेर नष्ट गरेपछि स्थानीय कृषकहरू चिन्तित भएका छन् । असिनाले स्याउसँगै आरु, ओखर, खुरपानीलगायतका सबै फलफूलका बिरुवाहरू नष्ट पारेका छन् । तर, गाउँपालिकाको कार्यालयले भने यस वर्ष दैवीप्रकोप क्षेत्रमा बजेट विनियोजन नभएकाले कृषकहरूलाई राहत उपलब्ध गर्न नसकिने बताएको छ ।

स्याउको आम्दानीबाटै वार्षिक जीविकोपार्जन गर्दै आएका पातारासी–४ का कृषक पूर्णबहादुर बोहोराले असिनाले स्याउबाली नष्ट पारेपछि अब परिवार पाल्न कालापहाड जानुुको विकल्प नरहेको बताए । ‘मैले लगाएको ९० बिरुवामा स्याउ फल्थ्यो, त्यसैको आम्दानीबाट छोराछोरीको पढाइ र घरखर्च चलाउँदै आएको थिएँ,’ उनले भने, ‘यस वर्ष स्याउबाली नष्ट भएपछि चिन्ताले सताएको छ ।’

स्याउखेतीलाई मुख्य आम्दानीको स्रोत बनाएका उनीजस्तै हजारौँ कृषकको वेदना उस्तै छ । आफ्नो बगैँचाको ८० वटा स्याउ फल्ने बिरुवामा फलेको सबै दाना झरेर भुइँ लटरम्मै हुँदा पीडाले आँखाबाट आँसु थाम्न नसकिएको कृषक मीनबहादुर बुढाले बताए । ‘असिनाले फल झारेको नांगो बिरुवामा हेर्दा साह्रै दुःखित महसुस हुन्छ,’ उनले भने, ‘सरोकारवाला निकायबाट राहतका लागि अपेक्षा गरेका छौँ ।’