
ललितपुर। यातायात क्षेत्रमा जस्तै तरकारीमा पनि डरलाग्दो सिन्डिकेट रहेको उपभोक्तावादी संस्थाले गरेको अध्ययनले देखाएको छ । उपभोक्ता हकहितको आवाज उठाउदै आएको उपभोक्ता संरक्षण मञ्चले तरकारीमा यातायात क्षेत्रको भन्दा डरलाग्दो सिन्डिकेट रहेको तथ्य सार्वजनिक गरेको छ ।
पछिल्लो समय मञ्चले गरेको स्थलगत अध्ययनमा किसानदेखि उपभोक्तासम्म तरकारी आइपुग्न विभिन्न बिचौलियाको तह पार गर्नु पर्ने देखिएको छ । अध्ययन अनुसार ५ देखि ७ तहको बिचौलिया पार गरेर मात्र उपभोक्तासम्म तरकरारी पुग्ने देखिएको छ । जसले गर्दा किसानले उत्पादन गरेको तरकारी आम उपभोक्ता सम्म पुग्दा ४ गुण सम्म बृद्धि भएको पाईन्छ ।
राष्ट्रिय हित उपभोक्ता संरक्षण मञ्चका महासचिव वावुराम हुमागाईले करिब दुई महिनाको अध्ययनमा तरकारीको उत्पादन बिन्दुदेखि ग्राहकसम्म आइपुग्दा विभिन्न तहका बिचौलियाको सिन्डिकेट पार गर्नु पर्ने बताए । ती बिचौलियाका कारण बजारमा चार गुणाभन्दा बढी तरकारीको मुल्य बढ्ने गरेको छ ।
‘त्यसबाट एकातिर भाउ नपाएर किसानहरुले आफ्नो पेशा छोड्दै गएका छन् भने अर्कातिर उपभोक्ताले महङ्गो मुल्यमा तरकारी खरिद गर्नु पर्ने बाध्यता छ,’ उनले भने ‘अब गाडीमा जसरी नै तरकारीको सिन्डिकेट तोड्न आवश्यक छ ।’उनको अनुसार किसानले तकारीको उत्पादन गर्छ । त्यसयता ढुवानीकर्ता, ठेकेदार, थोक व्यापारी, खुद्रा गरी ४-५ तह बिचौलिया रहेका हुन्छन् । त्यहाँ रहेको सिन्डिकेटको कारण किसानहरुले तरकारीको मुल्य समेत तोक्न पाउदैनन् । मुल्य बिचौलियाको हातमा हुन्छ ।
‘पाँचखालमा प्रतिकिलो १९ रुपैयाँ पर्ने काउली काठमाडौं आइपुग्दा ८० रुपैयाँ पर्छ,’ उनले भने ‘त्यस्तै लालबन्दीमा ६ रुपैयाँ पर्ने गरेको गोलभेडा काठमाडौंमा प्रतिकिलो ४० रुपैयाँ पर्छ ।’
अध्ययन अनुसार किसानदेखि उपभोक्तासम्म आइपुग्दा प्रतिकिलो ४० रुपैयाँ पर्ने तरकरी १६० र प्रतिकिलो ५० रुपैयाँ पर्ने बिचौलिया सिन्डिकेटको कारण २ सयमा रुपैयाँ मुल्य पर्न गएको भेटिएको छ ।
मञ्चका अध्यक्ष ज्योति बानियाले केही दिनअघि मात्रै मञ्चले गरेको तरकारीको पछिल्लो अध्ययन बारे कृषि, भूमि व्यवस्था तथा सहरकारी मन्त्रालयलाई जानकारी दिने क्रममा तरकारीको क्षेत्रमा यातायातकोभन्दा बढी सिन्डिकेट रहेको बताएका थिए । ‘सिन्डिकेटको कारण बिचौलिया मोटाउदै गएको छ भने वास्तविक किसान पलायन हुने क्रममा छन्,’ उनले भने ‘तरकारी क्षेत्रमा बिचौलियाको खेल डरलाग्दो छ ।’
महासचिव हुमागाईले थप्दै पाचखालको कुनै पनि किसानले सिधै कालिमाटी तरकारी बजारमा आफ्नो उत्पादन बिक्री गर्न नसक्ने बताए । ‘डरलाग्दो सिण्डिकेट छ, बिचौलियाको दादागिरीनै चल्छ,’ उनले भने ।
मञ्चले फागुन लागेसँगै तरकारीको मुल्य सम्बन्धि स्थलगत अध्ययन शुरु गरेको थियो । काभ्रेको पाँचखाल, वीरगञ्ज, वनेपा, मकवानपुरको पालुङ, कालिमाटी लगायतका स्थानमा अध्ययन गरेको छ ।उक्त स्थलगत अध्ययनको प्रतिवेदन केहीदिन भित्र कृषि, भूमि व्यवस्था तथा सहरकारी मन्त्रालयलाई बुझाउने कार्यक्रम छ ।
केही महिनाअघि आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको एक अध्ययनमा समेत तरकारीमा ५ तहसम्मको बिचौलिया रहेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।